लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएन ) यूकेको विशेष पहलमा नेपालको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक एनआरएन डेस्क स्थापना गरिएको छ।
एनआरएन स्थापना भएको १६ वर्ष पछि पहिलो पटक नेपाल सरकारले गैर आवासीय नेपाली हरुको लागि त्यस्तो डेस्क स्थापना गरेको हो।
बिहिवार विमानस्थल मै आयोजित एक समारोहमा औपचारिक रुपमा उक्त डेस्कको उद्घाटन गरिएको हो। सो कार्यक्रममा एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुमार पन्त तथा कुल आचार्य ,महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे सहितको उपस्थिति थियो। गत जनवरी महिनामा बेलायतको अध्यागमन प्रणालीको अध्ययन भ्रमणमा आएका अध्यागमन विभागका प्रमुख इश्वरराज पौडेल लगायतका अधिकृतहरुसंग एनआरएनले गरेको अन्तर्कृयामा यो विषय उठेको थियो।
एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनको तर्फबाट एनआरएन आइसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके उपाध्यक्षद्धय शेर बहादुर सुनुवार र प्रेम गाहा मगर, महासचिव आरे. के त्रिपाठी लगायतले अध्यागमन विभागका प्रमुखलाई लन्डनमा ज्ञापनपत्र बुझाएका थिए ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललाई लन्डनमा ज्ञापनपत्र बुझाउदै तस्बिर: शिब भण्डारी
यसै साता अध्यक्ष भवन भट्टले गृह मंत्री रामबहादुर थापा लाई एक पत्र लेखी एनआरएन डेस्क स्थापना गर्न अनुरोध गरेका थिए। डेस्क स्थापना गर्ने कार्यको समन्वय गरेका गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले यो अभियानमा सघाउने सबैलाई धन्यवाद दिएका छन्।
उनले अध्यागमन विभागका प्रमुख इश्वरराज पौडेल, विभागका अन्य अधिकृतहरु लगाएत सबैलाई धन्यवाद दिदै केन्द्रिय अध्यक्ष भवन भट्ट तथा आइसीसीका सबै पदाधिकारी साथिहरुको पहल तथा सहयोगको आफुले सम्मान गरेको जनाए । “अब संसार भरि रहनु भएका सबै गैर आवासीय नेपाली मित्रहरुको नेपाल यात्रा सुखद र झन्झटमुक्त हुने मैले विश्वास लिएको छु,” उनले भने।
यसैबीच एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी एबम महासचिव राजकुमार त्रिपाठीले समस्त एनआरएनहरुको आवश्यकतालाई मध्यनजर गरी एनआरएन यूकेले उठाएको मागलाई अघि बढाउन साथ दिने एनआरएन आइसिसी र सुनुवाई गरिदिने नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै विमानस्थलमा विभिन्न ब्यक्तीहरुले भोग्नुपरिरहेको र झेल्नुपरिहेको समस्या समाधान हुने निकै खुसीको कुरा भएको बताए । एनआरएनहरुलाई परेका समस्याको बारेमा पेश गरेको ज्ञापनपत्र सल्लाहकार शिवजी श्रेष्ठले तयार गरेका थिए। 

फेसबुक कमेन्ट