काश्मिरको प्रहरी चौकीमा सशस्त्र हमला

भारत,६ चैत । भारत प्रशासित काश्मिरी क्षेत्रमा अवस्थित एक प्रहरी चौकीमा संदिग्ध सशस्त्र विद्रोही हतियाधारीहरुले शुक्रबार बिहान हमला गरेको समाचार छ ।

सो हमलामा परी प्रहरी चौकीमा कार्यरत दुई जना प्रहरी अधिकारी मारिएका छन् । भारतीय सुरक्षा अधिकारीहरुले सो घटनाको पुष्टि गरेका छन् ।
संदिग्ध विद्रोहीले गरेको सो हमलामा परी अरु केही प्रहरी घाइते भएका पनि समाचारमा जनाइएको छ । उक्त प्रहरी चौकी काश्मिरको राजधानी सहर श्रीनगरबाट करिब २२० माइल दक्षिणमा पर्छ ।
भारतमा भारतीय जनता पार्टीको नेतृत्वको सरकार निर्माण भएपछि भारतको एकमात्र मुस्लिम बाहुल्यता भएको उक्त राज्यमा यो पहिलो पटक आक्रमण भएको बताइएको छ ।
घाइते हुनेमा भारतीय अर्धसैन्य बलका अधिकारी र प्रहरी पनि परेका बताइएको छ । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।
एकजना प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा तीनजना अर्धसैन्य बलका जवान पनि मारिएका बताएका छन् । तर सो समाचारको पुष्टि भने हुन सकेको छैन ।
सन् १९४७ मा भारत र पाकिस्तान विभाजन भएको समयमा नै काश्मिर पनि भारत र पाकिस्तानका बीचमा नै विभाजन भएको थियो ।
त्यस समययतादेखि भारत र पाकिस्तानले उक्त हिमाली राज्यलाई आ आफ्नो भनी दाबी गर्दै आएका छन् । सोही दाबीका कारण उक्त राज्यका लागि यी दुई देशबीच विभिन्न समयमा द्वन्द्व पनि भएको छ ।
उता बिहीबार मात्र पनि भारत र पाकिस्तानका सीमा सुरक्षकबीचको बैठक काश्मिरमा सुरु भएको समाचारमा जनाइएको थियो । सोही समयमा यो आक्रमण भएको अर्को समाचार आएको छ ।

ती दुई देशका कमाण्डर तहका सुरक्षा अधिकारीबीच सीमा क्षेत्रका आपसी मुद्दाका बारेमा कुराकानी भइरहेको समाचारमा जनाइएको छ ।

दुवै देशको सुृरक्षा तहमा आयोजित सो बैठकका लागि बुधबारदेखि नै युद्धविराम भएको थियो । सो युद्धविरामपछि वार्ता सौहार्द रुपमा जारी रहेको बताइएको छ ।

दुवै तर्फका सुरक्षा निकायले भने यस वार्ता अवधिसम्म कुनैपनि किसीमको आक्रमण वा कारबाही नगर्ने जनाएका छन् ।

-रासस/एएफपी