बिस्केट जात्रा चैत २७ देखि, भैरव भद्रकालीको रथ निर्माण सुरु

भक्तपुर, ६ चैत ।  प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट जात्रा यस वर्ष यही चैत २७ गतेदेखि सुरु हुने भएको छ ।

बिस्केट जात्राका लागि अति आवश्यक पर्ने भैरव र भद्रकालीको रथ निर्माण तौमढीमा सुरु भएको छ । तान्त्रिक विधिअनुसार काठै काठले पेगौडा शैलीमा ३५ फि अग्लो तीनतले भैरवनाथ र भद्रकालीको रथ अबको दुई साताभित्र निर्माण सम्पन्न गरिने गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिए ।

मुख्य गरी मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र नयाँ वर्षका दिन दिनभर भेलुखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रामा अति आवश्यक पर्ने भैरव र भद्रकालीको रथ निर्माण सुरु भएको हो । लिच्छविकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ ।

विक्रम संवत् अर्थात् सौरमासका आधारमा चल्ने बिस्केट जात्रा बिःसित अर्थात् नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ । जात्रा वैशाख ५ गते भैरवको रथलाई तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी सम्पन्न गरिने परम्परा छ ।