मालीका ‘हिरो’लाई फ्रेन्च नागरिकता

फ्रान्सको पेरिसस्थित एक सुपरमार्केटमा मुस्लिम बन्दुकधारीले आक्रमण गर्दा सुपरमार्केटभित्रै रहेका केही उपभोक्ताको ज्यान बचाउने एकजना मालीका युवालाई फ्रान्सको नागरिकता दिइएको छ ।
अफ्रिकीमुलुक मालीमा जन्मिएका २४ वर्षीय युवा लासाना बाथीली पेरिसको कोसर सुपरमार्केटमा काम गर्दै आएका थिए । पेरिसस्थित ‘चार्ली हेब्डो’ पत्रिकाको कार्यालयमा आक्रमण गरी १२ जनाको हत्या गरेको तेस्रो दिन जनवरी ९ तारिखमा कोसर सुपरमार्केटमा बन्दुकधारी प्रवेश गरी केही उपभोक्तालाई बन्धक बनाएका थिए ।
अमेडी कौलेबेली नाम गरेका ती बन्दुकधारीले सर्वसाधारणमाथि अन्धाधुन्द गोली प्रहार गर्दा ४ जनाको ज्यान गएको थियो । सोही समय सुपरमार्केटभित्र रहेका अन्य केही सर्वसाधारणलाई भने मुस्लिम धर्मप्रति आस्था राख्ने मालीका ती युवा लासानाले स्टोर कोठामा लुकाइदिए । यसकै कारण उनीहरु बन्दुकधारीको आक्रमणबाट जोगिएका थिए ।
उनको बहादुरीको कदर गर्दै लासानालाई फ्रान्सको नागरिकता र पासपोर्ट दिइएको हो । ९ वर्षदेखि फ्रान्समा बस्दै आएका लासानालाई फ्रान्सका प्रधानमन्त्री म्यानुएल भाल्स र आन्तरिकमन्त्री बर्नाड क्याभेनाजुले बधाइ समेत दिएका छन् ।