लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प पीडित राहत तथा उद्दार समिति २०१५ गठन गरी तत्काल च्यारिटी गर्न प्रत्येक राष्ट्रिय समन्वय समितिलाई निर्देशन दिएको छ । संघले आ आफ्नो देशमा अन्य सामाजिक संस्थाहरुको प्रतिनिधिहरु पनि समावेश गर्दै उही नामको समिति तत्काल गठन गरी नगद र राहत सामाग्री संकलनका लागि विभिन्न च्यारिटीका कार्यक्रम आयोजना गर्न निर्देशन दिएको हो । २५ अप्रिल २०१५ का दिन बसेको सचिवालय समितिको बैठकले ३०१ सदस्यीय एनआरएनए भूकम्प पीडित राहत तथा उद्दार समिति २०१५ निर्माण गर्दै यस समितिमा प्रत्येक एनसीसी अध्यक्षहरु पनि सदस्य राख्ने निर्णय भएको छ । सबै एनसिसीबाट संकलन भएका नगद र अन्य राहत सामाग्रीहरु अलग अलग वितरण नगरी आइसिसीमा जम्मा गरिदिन पनि केन्द्रबाट निर्देशन भएको छ । संकलित नगद र राहत सामाग्री एकीकृत रुपमा संघका अध्यक्ष शेष घलेको नेतृत्वमा सिधै पीडितहरुलाई हस्तान्तरण गरिने महासचिव कुमार पन्तले जारी गरेको सर्कुलरमा उल्लेख छ । संघले यथाशीघ्र स्वयंसेवकहरुको पनि व्यवस्था गरी उद्दार कार्यक्रम अझ वृहत बनाइदिन पनि अनुरोध गरेको छ ।
शनिबार गएको महाभूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या एक हजार ९ सय ३१ पुगेको छ ।नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमका अनुसार महाभूकम्पमा परी चार हजार ६ सय २७ जना घाइते भएको पछिल्लो विवरण आएको छ । शनिबार घाइतेहरुको उद्धार र उपचारमा पहिलो प्राथमिकता दिएका प्रहरीले आइतबार भत्किएका संरचनामा पुरिएकाहरुलाई निकाल्ने कार्यलाई प्राथमिकता दिएको छ । उपत्यकामा मात्रै नौ हजार प्रहरी परिचालन गरिएको छ।भत्किएका संरचनाका भग्नावशेष खोतल्न र पीडितको उद्धारका लागि आवश्यक डोजर, क्रेनलगायत उपकरण पर्याप्त नहुँदा समस्या परिरहेको उनको भनाइ थियो ।कम क्षति भएका क्षेत्रका प्रहरी जनशक्तिलाई तथा भूकम्पको कम क्षति भएका क्षेत्रका प्रहरी जनशक्तिलाई बढी प्रभावित क्षेत्रमा ल्याउन थालिएको उनले जानकारी दिए ।राहत तथा उद्धारकै लागि भारतीय उद्धार टोलीसमेत नेपाल आइपुगेको छ ।







