झडपमा पक्राउ परेकाविरुद्ध मुद्दा

डा सीके राउतलाई पक्रेको विरोधमा लहानमा सोमबार भएको झडपका क्रममा प्रहरीलाई पक्राउ गरेका चार विद्यार्थीमाथि मुद्दा चलाएको छ । पक्राउपर्नेमा तेनुवापट्टी गाविस–३ का धिरजकुमार यादव, लहान नपा–१ का रोषण चौधरी, सोही ठाउँका देबु चौधरी र अजय गुप्ता रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “चारैजनाले सवारी साधन तोडफोड गर्ने क्रममा पक्राउ परेका हुन् । त्यसैले सार्वजनिक मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएका छौँ ।”
मानव अधिकारकर्मी दुर्गा महतोले पक्राउ परेका चारैजना विद्यार्थी कुनै तोडफोड र झडपमा संलग्नता नरहेकाले पक्राउ गरेर मुद्दा चलाउनु मानवअधिकारको उल्लङ्घन भएको बताउनुभयो ।
यता, एकीकृत नेकपा माओवादी, फोरम नेपाल, सद्भावना पार्टी, फोरम लोकतान्त्रिकलगायतका पार्टीका प्रतिनिधिले संयुक्तरुपमा विज्ञप्ति जारी गरी विद्यार्थीमाथि चलाएको मुद्दा फिर्ता लिई अविलम्ब रिहा गर्न माग गरेका छन् ।