भारतीय सैनिकले असाममा आक्रामक कारबही सुरु गरेको जनाइएको छ । भारतीय सैनिक प्रमुखले असाममा यस्तो कारबाही थालिएको भन्दै सहयोगका लागि सबैसँग याचना गर्नुभएको छ ।
हालैमात्र असाममा विद्रोहीले कम्तीमा पनि ६९ जना सर्वसाधारण गाउलेको हत्या गरेको र जसका कारण त्यहाँका हजाररौँ नागरिक विस्थापित समेत हुन पुगेको भन्दै यस्तो कारबाहीको सुरुवात गरिएको हो ।
भारतले सो क्षेत्रमा सैनिकसहित करिब छ हजारजना अतिरिक्त सुरक्षाकर्मी पठाइसकेको छ । उक्त क्षेत्रमा केही दिनयतादेखि हेलिकोप्टर ओहोरदोहोर गरिरहेका पनि बताइएको छ । सो हत्या असामका विद्रोही समूह नेशनल डमोक्र्याटिक फ्रन्ट अफ बोडोल्याण्डले गरेको प्रहरीले जानकारी दिएको छ ।
यद्यपि अहिलेसम्म पनि सो हत्याको बारेमा कुनैपनि समूहले जिम्मेवारी लिएको छैन । स्थानीय नागरिकले पनि बोडोले नै सो हत्या गरेको बताएका छन् । सैनिक प्रमुख दलबिर सिंह सुहागले शुक्रबार सम्वादाताहरुसँग भन्नुभयो– पक्का पनि हामी कडा कारबाहीका लागि तयारी गरिरहेका छौँ । उहाँले शुक्रबारै राजधानी नयाँ दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको थियो ।
सो भेटमा उहाँले असामको सुरक्षा व्यवस्थाको बारेमा छलफल गर्नुभएको बताइएको छ । सो भेटपछि आजै सैनिक प्रमुख सिंहले सम्वाददाताहरुलाई सो प्रतिक्रिया दिनुभएको हो । भुटान र बङ्गलादेशसँग सिमाना जोडिएको सो भूभागमा विगत लामो समयदेखि नै यस्तै हिंसात्मक क्रियाकलापहरु हुँदै आएका छन् । बोडोल्यान्डहरुले त्यहाँ छुट्टै र स्वायत्त राज्यको मागगर्दै आएका छन् । उनीहरुले नै यो हिंसात्मक विद्रोह गरेकोमा भारतका सबैजसो सुरक्षा निकायको निष्कर्ष छ ।
सो क्षेत्रबाट कम्तीमा पनि सात हजार नागरिक भागेका छन् । उनीहरुमध्ये अधिकांशलाई अस्थायी शिविर बनाएर राखिएको छ । स्थानीय नागरिकले आफ्ना परिवारको हत्या भएकोमा दुःख व्यक्त गर्दै स्थानीयस्तरमा नै आन्दोलन गर्दै आएका छन् । उनीहरुले न्यायमाग्दै गरेको विरोध कार्यक्रममा प्रहरीले बुधबार गोली प्रहार गरेको र त्यसमा पनि तीन जनाको ज्यान गएको थियो ।
असाममा भारतीय सैनिकको आक्रामक कारबाही सुरु






