अन्तर्रष्ट्रिय नेपाली कलाकार समाज यूकेको अध्यक्षमा विनोद चिपालु निर्वाचित

लण्डन । अन्तर्रष्ट्रिय नेपाली कलाकार समाज (ईनास) यूकेको अध्यक्षमा विनोद चिपालु निर्वाचित भएका छन् । आइतबार प्लमस्टिडको गोर्खा क्लबमा सम्पन्न संस्थाको तेस्रो अधिवेसनले चिपालुको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा सिम्मी पुन उपाध्यक्ष, सञ्जयभक्त कंडेल महासचिव, गुणदेव घिमिरे सचिव र राजेन्द्र खस कोषाध्यक्षको जिम्मेवारीमा आएका छन् । कार्यसमिति सदस्यमा सवेन्द्र अधिकारी, लालमणि भट्टराई, निरु कंडेल, विकेशराज बस्नेत, रोनुस ओझा, सुशिल गुरुङ, ज्ञानेन्द्र गुरुङ र सत्य प्रजापति चयन भएका छन् ।

यो कार्यसमिति आउंदो २ वर्षको कार्यकालका लागि निर्वाचित भएको हो । एनआरनएन यूकेका उपाध्यक्ष ललित न्यौपाने, पत्रकार विपिन निरौला र विनय अधिकारी सम्मिलित निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गराएको थियो । नवनिर्वाचित कार्यसमितिलाई इनास ग्लोबलका सचिव मनिषकुमार श्रेष्ठ तथा सल्लाहकार दिपक श्रेष्ठ, जनसम्पर्क समिति बेलायतका उपसभापति सुरज केसी, इनास बेलायतका सल्लाहकार यादव भण्डारी र लव गौतम, क्याट यूके उपाध्यक्ष जिवन सेन लगायतले शुभकामना दिएका थिए । यसअघि अध्यक्ष रजनी सुनुवारको अध्यक्षतामा सम्पन्न अधिवेसनमा पूर्व उपाध्यक्ष सुशिल प्रजापतिले शुभकामना मन्तव्य दिएका थिए । महासचिव सञ्जयभक्त कंडेल र कोषाध्यक्ष दिपक थापाले वार्षिक तथा आर्थिक प्रतिवेदनहरु पेश गरेका थिए ।

ईनास यूकेका नवनिर्वाचित अध्यक्ष चिपालु नेपाली कला क्षेत्रमा लामो अनुभव संगालेका कलाकार हुन् । झण्डै दुई दशकअघि बेलायत आउनुअघि उनले नेपाली चलचित्र क्षेत्रमा डेढ दशक बिताएका थिए । त्यसक्रममा उनले ४ दर्जन बढि चलचित्र तथा दर्जनौं टेलिचलचित्रहरुमा अभिनय गुर्नको साथै प्राविधिकको रुपमा स्पेसल इफेक्टको जिम्मेवारी समेत सम्हाल्ने गरेका थिए । बेलायतमा पनि निरन्तर रुपमा विभिन्न स्टेज र अवसरहरुमा परम्परागत लाख नाच प्रस्तुत गर्दै उनले नेपाली कला र संस्कृतिको प्रबर्द्धन गर्ने कोशिस गर्दै आएका छन् । ईनास यूकेको नेतृत्वमा सर्वसम्मतिमा निर्वाचित भएपछि चिपालुले अब बेलायतभरका सबै नेपाली कलाकारलाई एकताबद्ध गर्दै अघि बढाउने आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबलको शाखाका रुपमा बेलायतमा कलाकार सनमकुमार वैरागको अध्यक्षतामा ४ वर्ष पहिले ईनास यूके स्थापना भएको थियो । संस्थापक वैरागपछि संस्थालाई रजनी सुनुवारले नेतृत्व गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *