लण्डनमा ‘’अध्यात्म, संस्कृति र संस्कार’’ बारे गरियो अन्तरकृया

लण्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले लण्डनको प्लम्स्टेडमा आईतबार ‘’अध्यात्म, संस्कृति तथा संस्कार’’ विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ।

बेलायती नेपाली समाजमा सुपरिचित विद्वान् आचार्य दुर्गाप्रसाद पोख्रेल तथा आचार्य नारायण पौडेल ‘गाउँले’ वक्ता रहेको सो कार्यक्रम सानी नानी सुश्री समृद्धि पोख्रेलको वेद मन्त्रोच्चारणबाट शुरू गरिएको थियो। आचार्य पोखरेलले धर्मको सार, जीवनमा धर्मको महत्व र सनातन हिन्दु धर्म, संस्कृतिका महत्वपूर्ण पक्षमा प्रकाश पारेका थिए।

उनले सामान्य विद्यालयमा सनातन हिन्दु धर्म, अध्यात्म, दर्शन, र सोह्र संस्कारका बारेमा नपढाइने भएकोले माता पिताले नै पहिला जान्नु पर्ने र घरैबाट संस्कार र संस्कृतिको शिक्षा दिलाउने वातावरण बनाउनु पर्ने कुरामा जोड दिए । उनले कर्म, भक्ति र ज्ञान मार्गको चर्चा गर्दै मानवीय मर्यादा, अनुशासन र समुन्नत संस्कारले भरिएका नेपाली वालवालिका, युवा बनाउन घर घरबाट पहल शुरु गर्न आग्रह पनि गरे ।

अर्का वक्ता आचार्य नारायण पौडेल ‘गाउँले’ले नेपाली संस्कार र कर्म काण्डको बारेमा विज्ञान, धर्म र संस्कृतिलाई जोडेर प्रवचन दिए। उनले रिलिजन र धर्मको अर्थ एउटै नभएको र आधुनिक विज्ञान र धर्म दर्शनलाई बुझ्न एउटै आयाम पर्याप्त नहुनेमा जोड दिए। रिलिजन भनेर मात्रै हिन्दु धर्म बुझ्न सकिन्न। यस भित्र विशाल प्याकेज छ भन्दै उनले हिन्दुहरुका १६ संस्कार मध्ये ब्रतबन्ध, विवाह जस्ता दैनिक जीवनका महत्वपूर्ण पक्षका बारेमा विहंगम दृष्टिकोण प्रस्तुत गरे। उनले नाग पंचमी जस्ता मानवीय जीवन र पर्यावरण सुरक्षाका लागि ऋषि मनीषीहरूद्वारा शुरु गरिएका चाडबाडको महत्वका बारेमा पनि बताए।

अन्तरक्रिया कार्यक्रम अंग्रेजी र नेपाली दुवै भाषामा गरिएको थियो । कार्यक्रम संयोजक मनोज श्रेष्ठले सनातन धर्म, संस्कृति र संस्कार भनेको के हो ? दैनिक जीवनमा यसको आवश्यकता किन? भन्ने बारेमा स्कूल र कलेज जाने उमेरका नेपाली बालबालिकाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम राखिएको बताए। संस्थाका पूर्व अध्यक्ष डा. तेजेन्द्र फेरालीले युवा पुस्तालाई आफ्ना संस्कार र संस्कृतिसँग कसरी आबद्ध गराउने भन्ने सबैको चिन्ता र चासोलाई सम्वोधन गर्न आयोजना गरिएको यस्तो कार्यक्रमलाइ निरन्तरता दिइने बताएका थिए।

प्रश्नोत्तर कार्यक्रममा उपस्थित युवा तथा अभिभावकहरूले राखेका विभिन्न महत्वपूर्ण जिज्ञासा तथा प्रश्नहरुमाथि विद्वान् वक्ताहरूले सरल र सारगर्भित उत्तर दिएर समाधान गरेका थिए ।

सहभागी मध्येका एक दीप गिरीका अनुसार बहुभाषी तथा बहु संस्कृतिको देश बेलायत जस्तो राष्ट्रमा हुर्केका छोरा छोरीहरू कुन धर्म, संस्कार र संस्कृतिमा हुर्कने हुन् र आफ्नोपन नै भुल्ने पो हुन् कि भन्ने चिन्तामा रहेका हामी नेपाली डायस्पोराका अभिभावकलाई यो कार्यक्रम अत्यन्त फलदायी भएको बताए। संस्थाका अध्यक्ष शेखर वाग्लेले हिन्दुत्व, संस्कार र संस्कृतिको बारेमा यदि कसैले हाम्रो छोरा छोरीलाई प्रश्न सोधेमा अन्नुतरित रहनु पर्ने र सबै प्रश्नको उत्तर आमा बुवाले पनि दिन नसक्ने अवस्थालाई कम्तिमा उत्तर दिन सक्ने बनाउन पनि हिन्दु दर्शन र संस्कारको बारेमा यस्ता खाले कार्यक्रम गर्नु परेको बताउदै अतिथि वक्ता तथा उपस्थित सबैलाई हार्दिक धन्यबाद दिएका थिए।

संस्थाका सचिव अर्जुन पौडेलले संचालन गरेको सो कार्यक्रममा उपाध्यक्ष्य रामकृष्ण अधिकारीले आमन्त्रित सबैलाई छोटो मन्तव्य द्वारा स्वागत गरेका थिए। बेलायती नेपाली डायस्पोरामा रहेका युवा तथा वालवालिका र अभिभावकको प्रत्यक्ष सहभागिता र विशेष उद्देश्य सहित गरिएको यस प्रकारको धर्म संस्कृतिको कार्यक्रम संभवत: पहिलो भएको उपस्थित सहभागीहरूले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *