बेलायतमा पहिलो पटक जातीय भेदभाव संबन्धी अन्तरकृया हुदै

लण्डन । बेलायतमा अन्तराष्ट्रिय जातीय विभेद दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । आगामी शनिवार मार्च १६ तारिक दिउसो १ बजे अल्डरशटको इम्पायर हलमा पहिलो पटक जातीय भेदभाव र छुवाछुत संबन्धी अन्तरकृया कार्यक्रम हुन लागेको हो ।

नेपाल उत्पीडित जातीय समाज युके (युरोप) ले आयोजना गरेको उक्त कार्यक्रममा युकेका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, एनआरएन आइसिसी उपाधक्ष कुल आचार्य, एनआरएन युकेका पदाधिकारीहरू, प्रमुख जातीय संस्थाका नेतृत्व, धार्मिक संस्थाका अगुवाहरू, नोप्स युरेपका अधक्ष लगायतको सहभागिता रहने सूचना आयोजक संस्थाका प्रमुख धन बहादुर सार्कीले दिनुभयो।

साथै नेपालबाट आउनु भएका वरिष्ठ गायिका मीरा राणा र नेकपाका नेता तथा गृहमन्त्री राम बहादुर थापाकी पत्नी नैनकला थापाको पनि विशेष उपस्थिति रहने छ।

आयोजक सार्कीले थप्नुभयोः “देश परदेशमा कुनै न कुनै रुपमा जातीय भेदभाव कायमै छ। दलित, जनजाति लगायत सबैले केहि पीडा भोगिएकै छ। त्यसैले, समाधानको लागि हामी सबै मिलेर के गर्न सकिएला भन्ने बारे छलफलमा सहभागी भैदिनु हुन सबैलाई मेरो हार्दिक अनुरोध छ।”

फरक खालको यस कार्यक्रममा किंगस्टन युनिभर्सिटीका रिसर्च फेलो डा. मित्र परियारले एक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ। विशेषज्ञका हिसावले अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेभिड गेल्नर लगायत ५-६ जना पिएचडीवालाहरूले टिप्पणी र आफ्नो धारणा पनि राख्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *