एजेन्सी- न्यूजिल्याण्डको क्राइस्टचर्चको अल नूर मस्जिद नजिकै अन्धधुन्ध गोलीबारीको आवाज सुनिएको छ । पुलिसले स्थितीलाई गम्भीर बताउँदै मानिसहरुलाई उक्त इलाकामा नआउन अपिल गरेको छ ।

रिपोर्टका अनुसार यहाँ एक हमलाकर्ता सक्रिय छन् । यो मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए । खेलाडी सुरक्षित छन् ।

बंगलादेशको क्रिकेट समूह अहिले न्यूजिल्याण्डको भ्रमणमा छन् ।

प्रत्यक्षदर्शीले स्थानीय मिडियासँगको कुराकानीमा मस्जिद भित्रका थुप्रै मानिसहरुलाई गोली लागेको जानकारी दिएका छन् ।

क्राइस्टचर्चको अस्पतालाई हाई अलर्टमा राखिएको छ र सबै स्कूल बन्द गरिएको छ ।

हमलाकर्ताबाट बच्नका लागि थुप्रै मानिसहरुले ज्यान बचाएर भागिरहेको पनि देखिएका छन् ।

एक प्रत्यक्षदर्शी मोहन इब्राहिमले न्यूजिल्याण्ड हेराल्डसँग भने, ‘सुरुमा हामीलाई बिजुली सट भएको भन्ने लाग्यो । त्यसपछि सबैजना भाग्न थाले । मेरा थुप्रै साथी अहिले पनि मस्जिद भित्रै छन् ।’

उनले थपे, ‘मैले मेरा थुप्रै साथीलाई फोन गरेँ तर तीमध्ये कसैले पनि जवाफ दिएका छैनन् । म साथीहरुको विषयमा निकै चिन्तित छु ।’

केही प्रत्यक्षदर्शीले मस्जिदभित्र आफूले शव देखेको बताएका छन् तर पुलिसले अहिलेसम्म यसको पुष्टि गरेको छैन ।

रिपोर्टका अनुसार लिनवुड इलाकाको अर्को एउटा मस्जिद पनि खाली गराइएको छ ।

बंगलादेशी खेलाडी तमिम इकबालले ट्वीट गरे, ‘पूरा समूह सक्रिय सुटरबाट सुरक्षित बचेको छ । ’

फेसबुक कमेन्ट