काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेलामा ‘रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु गरिएकाले’ यसले मुलुकमा राजनीतिक अस्थिरता वृद्धि गर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसका सन्दर्भमा आज उहाँले प्रकाशन गर्नुभएको सन्देशमा पछिल्ला केही दिनयताका घटनाबाट सिङ्गो मुलुक र लोकतन्त्रका पक्षधर जनता चिन्तित र गम्भीर भएको र यसले जनताको आधारभूत हितमा आँच पुर्याउने चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस्ता घटनाले अन्ततोगत्वा मुलुकलाई पछाडि धकेल्ने जोखिम उत्पन्न गर्ने जनाउनुभएको छ ।
“सङ्कीर्ण दलीय या व्यक्तिगत स्वार्थप्रेरित कदमले राष्ट्रलाई दूरगामी नकारात्मक असर पुर्याउन सक्ने यथार्थप्रति गम्भीर हुन र लोकतान्त्रिक शक्तिबीचको एकतालाई कमजोर गर्ने गतिविधि नगर्न म सम्बद्ध सबैलाई हार्दिक आह्वान गर्दछु”, नेकपा (एमाले) का अध्यक्ष समेत रहनुभएका ओलीले भन्नुभएको छ ।
संविधानको प्रभावकारी कार्यान्वयनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, समावेशी र सङ्घीय शासन प्रणाली जस्ता उपलब्धिलाई सुदृढ गर्नु र सुखी जनता र समृद्ध राष्ट्र निर्माणको लक्ष्य हासिल गर्नु यतिबेलाको सबैभन्दा महत्वपूर्ण र साझा राष्ट्रिय दायित्व हो भन्दै उहाँले राष्ट्रिय स्वाभिमान, स्वतन्त्र आत्मनिर्णयको अधिकार र नेपालको सार्वभौम हैसियतलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष, सामाजिक मुक्ति एवम् राष्ट्रिय स्वाधीनताका आन्दोलनमा नेता पुष्पलालका योगदान अविस्मरणीय छ भन्दै उहाँले राजतन्त्रको अन्त्य र लोकतन्त्र प्राप्तिका लागि सबै लोकतान्त्रिक शक्ति संयुक्त आन्दोलनको बाटामा अगाडि बढ्नुपर्ने उहाँको दूरदर्शी प्रस्तावकै आधारमा २०४६ सालको संयुक्त जनआन्दोलन सफल भएको उल्लेख गर्नुभयो ।






