आज चीनसँग इन्धन ल्याउने विषयमा वार्ता

china-nepal-flag
काठमाडौं- चीन भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री कमल थापाले आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

आज आफ्ना समकक्षी वाङ यी सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस अवसरमा उहाँले चीनबाट इन्धन आयातमा भण्डारणको समस्या मुख्य भएकाले त्यसलाई सम्बोधन गर्न प्रस्ताव गर्ने कार्यक्रम छ ।

नेपालले केरुङमा इन्धन भण्डारणका लागि संरचना निर्माण गरिदिन चीनसँग आग्रह गर्नेछ । थापाले भूकम्पले आवागमनमा अवरोध पुर्याएको तातोपानी नाका खोल्न चीनलाई आग्रह गर्नुहुनेछ भने रसुवाको टिमुरेको स्तरोन्नति, सुक्खा बन्दरगाह निर्माण लगायतका विषयमा छलफल हुनेछ ।

तत्काल इन्धन खरिद सम्झौता नहुने भएको छ । चीनसँग पारवहन सन्धिको पनि सम्भावना कम भएकाले ईन्धन ल्याउने सम्झौता पनि हुने नसक्ने देखिएको हो ।

हिजो चीनियाँ उपराष्ट्रपति ली युनचाओले तत्कालका लागि नेपाललाई इन्धन सहयोगसहित व्यापारिक कारोबार गर्न चीन तयार रहेको सन्देश दिनुभएको थियो ।