लन्डन । बेलायतको मेडस्टोन नेपाली समाजका पूर्व सचिव दिनेश खड्का मेडस्टोन टाउनबाट काउन्सिलरको पदमा चुनाव लड्न लागेका छन् । आउँदो मे २ तारिखमा हुन गइरहेको स्थानीय चुनावमा काउन्सिलर पदमा चुनाव लड्न उनलाई लिबरल डेमोक्र्याट पार्टीले छनोट गरेको छ । स्थानीय सामाजिक काममा सक्रीय खड्काले सन् २०१० मा लिबरल डेमोक्र्याट पार्टीको सदस्यता लिएका थिए । सो पार्टी नेपाली तथा गोर्खा लगाएतका आप्रवासी समुदाय प्रति उदार ठानिन्छ ।

ब्रिटिश खाद्य उद्योगमा गएको १४ वर्ष देखि खाद्य प्राविधिक तथा व्यवस्थापकको रुपमा काम गर्दै आएका खड्काले अहिले ग्रीनविच विश्वविद्यालयबाट पीएचडी पनि गरिरहेका छन् । उनले सोहि विश्वविद्यालयबाट खाद्य सुरक्षा तथा गुणस्तर व्यवस्थापनमा मास्टर्स गरेका थिए । दाङ्ग, सतबरिया घर भएका खड्का राप्ती समाज युकेका सचिव पनि हुन् । “मैले यो चुनावमा पार्क लगाएतका खुला स्थलहरुको सुरक्षा गर्ने, स्थानीय समुदाय को तर्फ बाट आवाज उठाउने तथा वायु प्रदूषण घटाउने जस्ता मुख्य मुद्दाहरु उठाई रहेको छु” उनले भने। उनले अहिले सम्म स्थानीय जनताकोतर्फबाट राम्रो प्रतिक्रिया पाईरहेको बताउंदै सबैलाई सहयोगका लागि अपिल पनि गरेका छन् ।

फेसबुक कमेन्ट