नयाँ शक्ति नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका नेता तथा मन्त्री रवीन्द्र अधिकारीको निधनपछि देशले होनाहार एक नेता गुमाएको प्रतिकृया दिएका छन् ।
शुक्रबार बिहान काठमाडौँको टुँडिखेलमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीसहित सातै जनालाई श्रद्धान्जली दिएपछि डा. भट्टराईले यस्तो प्रतिकृया दिएका हुन् ।
उनले लोकतान्त्रिककरणपछि समृद्धिको दिशामा मुलुक प्रवेश गरेका बेला भएको यस्तो घट्नाले नेपाललाई नै क्षति पुगेको डा. भट्टराईको भनाई थियो ।
‘देशमा रवीन्द्र अधिकारी जस्ता अत्यन्त सिर्जनशील युवा नेतृत्वको खाँचो थियो । खासगरी रवीन्द्रजी समृद्धिको विषयमा धेरै चासो राख्ने गर्नुहुन्थ्यो, कितावहरु पनि लेख्नुभएको थियो । उर्जाशील र स्वच्छ छविको रवीन्द्रलाई मैले व्यक्तिगत रुपमा पनि राम्रोसँग चिन्थे । तर, आकस्मिक र अकल्पनीय रुपमा यो घटना भएको छ । यसले यो देशले होनाहार एक नेतृत्व गुमाएको छ, चोट पुगेको छ,’ भट्टराईले भावुक शैलीमा सञ्चारकर्मीलाई बताए ।






