माओवादी मन्त्री हटाउन देउवालाई अप्ठ्यारो

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबिनै सरकारको पक्षमा बहुमत सांसदको समर्थन जुटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत दिएका छन् ।

बहुमत पुगे पनि माओवादी केन्द्र सरकारबाट फिर्ता नभएकाले प्रधानमन्त्री देउवालाई तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न अप्ठ्यारो छ । संविधानअनुसार प्रधानमन्त्रीले सम्बन्धित दलको सुझाव वा सल्लाहमा मात्रै मन्त्रीहरू बर्खास्त गर्न सक्छन् ।

संसदमा १९ सिट रहेको राप्रपाले सोमबार सरकारलाई समर्थन जनाएपछि सत्ता घटक माओवादी केन्द्रबिनै सरकारको पक्षमा बहुमत जुटेको छ । कांग्रेस–माओवादी गठबन्धन सरकारबाट केही समयअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको समर्थन कायमै छ । कांग्रेसको २०७, राजपाको २४, संघीय समाजवादी फोरमको १५, राप्रपाको १९, राप्रपा (प्रजातान्त्रिक) को १८, फोरम लोकतान्त्रिकको १७ गरी सरकारको पक्षमा अब ३ सय सांसद हुनेछन् । २ सय ९७ सांसदको समर्थन रहे सरकारको पक्षमा बहुमत पुग्छ ।