उद्योग बाणिज्य महासंघका अध्यक्ष पाण्डे पक्राउ

 काठमाडौं , ३ चैत । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

Pradeep-jung-pandeyथुनछेक नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिनु नपर्ने फैसला गरे लगतै पाण्डे पक्राउ गरेका हुन् ।

पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले बालुवाटारस्थित निवासबाटै पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयनका लागि पाण्डेलाई पक्राउ गरिएको र बुधबार जिल्ला अदालतमा उपस्थित गराइने सीआईबीले जनाएको छ ।

यसअघि सर्वोच्चका कायम मुकायम प्रधान न्यायधीश कल्याण श्रेष्ठ र न्यायधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले पाण्डेको निवेदनमा अन्तरिम आदेश जारी गर्नुपर्ने कारण नभएको फैसला सुनाएको थियो ।

०३८ सालमा तत्कालीन काठमाडौं उपत्यका खानेेपानी व्यवस्थापन लिमिटेडमा रहँदा भ्रष्टाचार गरेको भन्दै पुनरावेदन अदालतले पाण्डेलाई जेल सजाय सुनाएको थियो । तर, दरबारको हुकुम प्रमाङ्गीमा सजाय मुक्त भएका थिए ।

तर, पाण्डे उद्योग बाणिज्य महासंघको अध्यक्ष भएपछि १ वर्ष ९ महिना २७ दिन कैद भुक्तान गर्न बाँकी रहेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा गर्‍यो । जसमा जिल्ला अदालतले फैसला कार्यान्वयन गर्न आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशपछि आफूलाई हुकुम प्रमाङ्गीबाट कैद मिनाह पाएको भन्दै पाण्डे सर्वोच्च गएपछि थुनछेक नगर्न अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चले मंगलबार अन्तरिम आदेशलाई निरन्तरता दिएन र यससँगै अन्तिम फैसला नहुँदासम्म जिल्ला अदालतको आदेश कार्यान्वयनको बाटो खुल्यो ।

पाण्डे गत चैत २८ गते नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका थिए ।