काठमाडौं, ३ चैत । तिब्बतको खासाबाट अवैध रूपमा नेपालको बाटो हुँदै भारततर्फ काँचो सुन तस्करी गर्न मुलुककै केही सुन व्यवसायीहरू संलग्न भएको तथ्य खुलिरहेका बेला थप अन्य केही रहस्य प्राप्त भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट गरिएको एक अनुसन्धानबाट नेपाली व्यवसायीहरूको संलग्नतामा सुन तस्करी हुने गरेको रहस्य खुलको थियो । यो रहस्य खुलेको सात महिनापछि मात्र युनाइटेड गोल्ड मार्टका सञ्चालक आकाश बज्राचार्यसहित केही नेपालीहरू पक्राउ परेका हुन् । तर प्रहरीले तस्करीका मतियार भारतीय व्यापारीहरूलाई पक्राउ गर्नसकेको छैन । प्रहरीले पक्राउ गरेकोमा नेपाली भरिया मात्रै परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरूलाई पक्राउ गरी मुद्दा चलाएपछि सोही महाशाखाको एक अनुसन्धानमा सुन तस्करीका लागि आवश्यक पर्ने डलर आपूर्तिमा नेपालका विभिन्न मनी एक्सचेन्जहरू संलग्न भएको तथ्य फेला परेको छ । महाशाखा स्रोतका अनुसार अमेरिकी डलरको नेपालमै अवैध धन्दा हुन थालेको धेरै समय भइसकेको छ । यसबाट नेपालले अर्बाैं रुपैयाँको राजस्वसमेत गुमाउन पुगेको छ ।
महाशाखाले गरेको पछिल्लो अनुसन्धानको क्रममा बाबुराम अर्यालले सञ्चालन गरेको क्षेत्रपाटी नबिल बैकसँगैको अनातोलिया रेस्टुरेण्ट रहेको घरमा सञ्चालित न्यू अन्नपूर्ण मनि, नन्दकुमार श्रेष्ठले सञ्चालन गरेको ज्याठाको सनराइज मनि एक्सचेन्ज, ठमेल ज्याठाकै जनक श्रेष्ठको वेलकम मनि एक्सचेन्ज, हरि सापकोटाले सञ्चालन गरेको ईको मनि एक्सचेन्ज रहेका छन् । यसैगरी, मणिकुमार गुरुङले सञ्चालन गरेको अन्नपूर्ण मनि एक्सचेन्ज, अशोक नेपालले सञ्चालन गरेको डाँफे मनि एक्सचेन्ज, सन्तोष खनालले सञ्चालन गरेको अल्पाइन मनि एक्सचेन्जले पनि अवैध रूपमा डलर सटही गरी चिनियाँ व्यापारीलाई पठाउने गरेका छन् ।
यीबाहेक रवि श्रेष्ठले सञ्चालन गरेको ट्राभलेक्स मनि एक्सचेन्ज, लोट्स मनि एक्सचेन्ज, ठमेल र त्रिदेव मनि एक्सचेन्जबाट पनि अवैध रूपमा विदेशी मुद्रा सटही हुने गरेको महाशाखा स्रोतले जनाएको छ । मनि एक्सचेन्जहरूले ठमेल, सुन्धारा, बसन्तपुर, गौशाला, बौद्ध र नयाँ बसपार्क मित्रनगरका मनि एक्सचेन्जहरूबाट दैनिक २५ देखि ३० लाख डलरसम्म वाणिज्य बैंकहरूको दरभन्दा तीन रुपैयाँ बढीमा अवैध रूपमा खरिद गरेको पाइएको छ । यसरी खरिद गरिएको डलर ठमेलको २५ वडा कार्यालय अगाडिको कुमारी नामको चाइनिज होटलको २०४ नम्बरको कोठामा बस्ने खवाङ नामको चाइनिज व्यापारीलाई, ठमेल ज्याँठाकै थाइसान, ड्राइगन, ठमेल गणेशमान रोडका फनेक्स, होराइजनलगायतका चाइनिज होटलहरूमा बस्ने स्याउली, मौरी, लिवी, लोसुजुन नाम गरेका चाइनिज व्यापारीहरूलाई बेच्ने गरेको महाशाखा स्रोतले जनाएको छ ।
चाइनिज व्यापारीहरूले अवैध रूपमा लगेको डलर चाइनाको ल्हासा पुगेर त्यहाँबाट दैनिक ५० केजीको हाराहारीमा अवैध रूपमा सुन झिकाई न्युरोडको युनाइटेड गोल्ड मार्ट, आरके ज्वेलर्स, रिद्धि–सिद्धि ज्वेलर्स, सूर्यलाल एन्ड सन्स ज्वेलर्समा बिक्री गर्ने गरेको पनि स्रोतले दाबी गरेको छ । यसरी आएको सबैभन्दा बढी सुन भने आरके ज्वेलर्स र रिद्धि–सिद्धिले लिने गरेको स्रोतले जनाएको छ ।
चाइनिज व्यापारीहरूले दैनिक ५० किलो सुन झिकाउन डलर नपुगेमा त्योबापतको रकम पशुपति प्लाजामा कार्यालय रहेको रामशरण तिमल्सिना, रञ्जना गल्लीमा कार्यालय भएका बाबुलाल, कमलपोखरीका पवन सरिया र न्युरोडको आरके ज्वेलर्सका आरके शाक्यले हुण्डीमार्फत चीन पठाइदिने गरेका छन् । सूर्यलाल एन्ड सन्स ज्वेलर्सका मालिक नेविलाल रहेका छन् । प्रहरीले उनीहरूमाथि विशेष निगरानी राखेको दाबी गरेको छ ।
दैनिक ५० करोडको सुन भारत तस्करी






