कर्णाली मृत्युमार्ग ?

जुम्ला, ३ चैत्र । कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्डमा सवारी दुर्घटनाको क्रम बढ्दै गएको छ । २०६३ साल चैत ३० गते यो सडक संचालनमा आए यता हालसम्म १ सय ५९ वटा दुर्घटना भईसकेका छन् । जसमध्ये कालीकोट खण्डमा सबैभन्दा बढी ८५ वटा दुर्घटना  भएका छन् । यसैगरी दैलेखमा २९ र जुम्लामा २१ वटा दुर्घटना भएका छन् ।
पछिल्लो पटक हिजो जुम्लाबाट कालीकोट जाँदै गरेको यात्रु बस रारालिही सडक खण्डमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये ३ को अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ भने अन्य ११ जनाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । सदरमुकामबाट कालिकोटको नाग्मा जाँदै गरेको बस रारालिही खण्डको सडकबाट २ सय मिटर तल तिला नदिको छेउमा खसेको थियो ।