अनशन रोकिन्न, ओपीडी बन्द नगर्नुस्

काठमाडौं, १८ चैत्र । एघार दिनदेखि आमरण अनशनमा रहेका प्राध्यापक डा. गोविन्द केसीका माग पूरा गर्न सरकारले आलटाल गरेको भन्दै नेपाल चिकित्सक संघले बुधबारदेखि देशभरका स्वास्थ्य संस्था ठप्प पारेको छ । देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका छन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा भइरहेको ‘माफियाकरण’काविरुद्ध आवाज उठाउँदै डा. केसी लामो समयदेखि अनशनमा बसेपनि सरकारले माग पूरा गर्न आलटाल गरेकाले स्वास्थ्य संस्था ठप्प पार्ने निर्णय गरेको चिकित्सक संघका अध्यक्ष अञ्जनीकुमार झाले बताए ।
यस्तै, नेपाल रेजिडेन्ट डक्टर्स एसोसियसनले बुधबार नेपाल मेडिकल काउन्सिललाइ ज्ञापनपत्र बुझाएको छ । मेडिकल क्षेत्रमा मौलाउँदै गएको माफियातन्त्रको अन्त्य, भ्रष्टाचार नियन्त्रण र मापदन्ड पूरा नभएका मेडिकल कलेजहरुको सम्बन्धनबारे काउन्सिलले चासो नदिएको भन्दै उनीहरुले काउन्सिल पदाधिकारीको राजीनामा माग गरेका छन् ।
नारा, जुलुस गर्दै काउन्सिलमा तालाबन्दी गर्न खोज्दा चिकित्सक र सुरक्षाकर्मीबीच सामान्य झडपसमेत भएको थियो । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै डा. केसीले अनशन नरोकिने अडान दोहोर्‍याएका छन् । डा. केसीले ओपीडी सेवा बन्द नगर्न चिकित्सक संघलाई आग्रहसमेत गरेका छन् । उनले आफ्ना कारण बिरामीले दुःख नपाउन् भन्दै सेवा बन्द नगर्न आग्रह गरेका हुन् । अनशनरत डा. केसीको स्वास्थ्यस्थिति गम्भीर भएपछि बुधबारदेखि भेटघाटलाई भने कम गरिएको छ ।