अष्ट्रेलिया। अष्ट्रेलियामा गत शनिवार देखिको चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको छ।
गर्मीका कारण वन्यजन्तु मर्ने, डढेलो फैलिने र मानिसहरू विरामी परेर अस्पताल जानुपर्ने घटनाहरू ह्वात्तै बढेका छन्। अष्ट्रेलियाको मौसम पूर्वानुमान निकायले भनेको छ प्रारम्भिक तथ्यांकले देशभर दैनिक औसत उच्चतम तापक्रम चालिस डिग्री सेल्सियसभन्दा माथि नै रहेको छ।
न्यू साउथ वेल्सको नूना नगरमा रातीको समयमा नै तापक्रम ३५.९ डिग्री सेल्सियस मापन गरिएको छ। अधिकारीहरूका अनुसार अष्ट्रेलियामा हालसम्म मापन गरिएको मध्ये त्यो सबैभन्दा उच्च न्यूनतम तापक्रम हो।
मौसम पूर्वानुमानकर्ताहरूले हालको चर्को गर्मीको अवस्थालाई सन् २०१३ को तापलहरसँग दाँजेका छन् जुन बेला तापक्रम लगातार सात दिनसम्म ३९ डिग्री सेल्सियसभन्दा बढी रहेको थियो।
अष्ट्रेलियामा मापन गरिएकामध्ये सबैभन्दा गर्मीको दिन सन् २०१३ को जेनुअरी सात तारिखको दिन थियो जुनबेला राष्ट्रिय औसत तापक्रम ४०.३ डिग्री सेल्सियस थियो।
न्यू साउथ वेल्सको ठूलो इलाका चर्को गर्मीको मारमा परेको छ। त्यसैगरी क्वीन्सल्याण्ड, साउथ अष्ट्रेलिया, भिक्टोरिया र नोर्दन टेरिटोरीका केही भागहरूमा पनि तापक्रम चर्को छ। सप्ताहान्तको बेला दक्षिणी र मध्ये इलाकाहरूमा तापक्रम केही कम हुनसक्ने अनुमान गरिएको छ।
तर मौसम पूर्वानुमानकर्ताहरूका अनुसार वेस्टर्न अष्ट्रेलियामा भने तापक्रम केही बढ्न जानेछ। उक्त राज्यका केही भागमा आगामी दिनमा औसतभन्दा १४ डिग्री सेल्सियसभन्दा बढीको विन्दूमा तापक्रम पुग्न सक्ने बताइएको छ।
मौसमविज्ञहरूका अनुसार अत्यधिक तापक्रमको लहर अष्ट्रेलियका विभिन्न १० भन्दा बढी स्थानमा पहिले अभिलेख राखिएकोभन्दा बढी विन्दूमा पुगिसकेको छ।
साउथ अष्ट्रेलियाको आउटब्याक नगर टारकूलामा गर्मीले रेकर्ड तोडिसकेको छ, जहाँ मंगलबारको तापक्रम ४९ डिग्री पुगेको थियो। साउथ अष्ट्रेलियाको पोर्ट अगस्टामा ४८.९ डिग्री तापक्रम पुगेको थियो। राज्य सरकारका अनुसार बुधवार अत्यधिक गर्मीका कारण साउथ अष्ट्रेलियामा १६ जना मानिसहरू अस्पताल भर्ना भएका थिए।
अन्य राज्यका अधिकारीहरूले पनि मानिसहरूलाई घरभित्र नै रहन र थोरैभन्दा शारिरिक गतिविधि कम गर्न भन्दै स्वास्थ्य चेतावनी जारी गरेका छन्। खासगरी वृद्धवृद्धा, दीर्घ रोग भएका र बालबालिकाहरूको हेरविचारमा विशेष ध्यान पुर्याउन भनिएको छ।
तटवर्ती शहरहरूमा थुप्रै मानिसहरू स्वीमिंग पूल, समुद्री किनार र पानी भएका अन्य स्थानमा भेला भएर गर्मी कम गर्ने प्रयास गरिरहेका छन्।
बिहीवार भिक्टोरिया, ताज्मेनिया र न्यू साउथ वेल्सका विभिन्न स्थानमा दर्जनौं वन डढेलोका घटनाहरू भएका थिए। बीबीसी






