तुलसीपुर । सामूहिक बलात्कारका मुख्य दोषीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ।
दाङकी १७ वर्षीया कल्पना खनालमाथि २०६५ चैत १५ गते राति सामूहिक बलात्कारका मुख्य दोषी तुलसीपुर उपमहानगरपालिका–१८ का ३१ वर्षीय विष्णु चौधरीलाई सर्वोच्च अदालतबाट २०७२ फागुन ३० गते ९ वर्ष ११ महीना दुई दिन सजाय र रु ५० हजार जरिवाना तोकिएको थियो।
सामूहिक बलात्कारमा परेकी खनालको घटना भएको ८४ औँ दिनमा मृत्यु भएको थियो। नसालु पदार्थ खुवाएर उनीमाथि सामूहिक करणी गरिएको थियो।
घटनामा संलग्न छ जनाले सजाय भुक्तान गरेका र मुख्य दोषीलाई प्रहरीले घटना भएको १० वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीलाई शुक्रबार जिल्ला अदालत घोराहीमार्फत कारागार चलान गरिने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। घटनामा संलग्न फरार रहेका मोहन पुनको खोजी जारी रहेको बताइएको छ। रासस






