नयाँ दिल्ली। भारतीय सेनाध्यक्ष विपीन रावत र उनकी पत्नीसहित १४ जना सवार हेलिकप्टर दुर्घटनामा ११ जनाको मृत्यु भएको छ।
भारतीय सेनाको एमआई १७ भी ५ हेलिकोप्टर बुधबार दुर्घटना भएको हो। घना जंगलमा भएको दुर्घटनापछि विमानमा आगो लागेको थियो।
समाचार अनुसार अहिलेसम्म ११ शव भेटिएका छन्। ती शव अधिकांश जलेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय रक्षाप्रमुख रावत भने गम्भीर घाइते भएका छन्। अहिले उनलाई अस्पताल भर्ना गरिएको छ।
यसमा भारतीय रक्षाप्रमुख जनरल विपिन रावत, उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए। तर उनको अवस्था चिन्ताजनक छ। यसबारेमा भारतीय सेनाले कुनै आधिकारिक विज्ञप्ति निकालेको छैन।
टाइम्स अफ इन्डियाले बाँकीको अवस्था अज्ञात रहेको उल्लेख गरेको छ। तीन जनालाई मात्र यसअघि अस्पताल पुर्याइएको थियो। निकालिएका शव र अस्पताल भर्ना भएका को को हुन् भन्नेबारे केही पनि खुलाइएको छैन। तमिलनाडुको निलिगिरिस जिल्लाको कुनुर भन्ने ठाउँमा पर्ने जङ्गलमा बुधबार स्थानीय समयअनुसार दिउँसो १२ बजे दुर्घटना भएको थियो।
दुर्घटनाबारे केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरेका छन्।
रावत भारतीय वायु सेना अर्थात इन्डियन एयर फोर्स् आईएएफको हेलिकप्टरमा सवार थिए। सुलुरस्थित आर्मी बेसबाट स्थानीय समयअनुसार ११ बजेर ५० मिनेटमा हेलिकप्टर उडेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। हेलिकप्टर सुलुरबाट वेलिङ्टनस्थित डिफेन्स सर्भिस स्टाफ कलेजमा जाँदै थियो। दुर्घटना भएको ठाउँ वेलिङ्टनबाट १० किलोमिटर दुरीमा रहेको जनाइएको छ।
इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।






