लन्डन( राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा २९७ औं पृथ्वीजयन्ती लन्डनमा धूमधामसाथ मनाइएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा लन्डन वेम्बलीको सडवरी टाउनस्थित हिमालयन क्लबमा भएको कार्यक्रममा सहभागीहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको महिमागान गरेका थिए ।

संगठनका अध्यक्ष भरत क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा बेलायतका लागि नेपाली दुताबासका उपनियोग प्रमुख शरदराज आरण प्रमुख अतिथि रहेका थिए ।

चेतमान केसीले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि तथा लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरनले विश्वमाझ नेपाललाई एक स्वाधिन तथा स्वाभिमानी राष्ट्रका रुपमा स्थापित गर्न पृथ्वीनारायण शाहको ठूलो योगदान रहेको बताए । नेपाल सरकारले पनि पृथ्वीनारायणबाट भएको राष्ट्र एकिकरणको महत्वलाई बुझेर पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाएको उनले उल्लेख गरे ।

कार्यक्रम आयोजक संयुक्त राष्ट्रवादी नेपाली संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले नेपालमा सरकार र राजनीतिक दलका नेताहरुले राष्ट्रनिर्मातालाई आवश्यक सम्मान दिन नसक्नु दुखद रहेको बताए । देशमा जस्तासुकै राजनीतिक परिवर्तनहरु भएपनि पृथ्वीनारायणले एकिकृत राष्ट्र निर्माण गरेको इतिहास कहिल्यै परिवर्तन हुन नसक्ने उनको भनाइ थियो ।

 विशेष अतिथि बुद्धिजिबी डा राघवप्रसाद धिताल (ओबिई) ले पृथ्वीनारायण शाहको विषयमा नकारात्मक टिप्पणी हुनुको पछाडि अध्ययनको कमी तथा अज्ञानता कारक रहेको दाबी गरे । एकिकृत राष्ट्र निर्माणको क्रममा पृथ्वीनारायण शाहले निर्वाह गरेको भुमिकालाई तत्कालिन समय र परिवेशको आधारमा मुल्यांकन गरिनुपर्ने उनको धारणा थियो । नेपाली सेनाका पूर्व सेनानी कुमार बस्नेतले पृथ्वीनारायण शाहको योगदानलाई राजसंस्थाको घेराभित्र सिमित गरेर मात्र हेर्दा न्यायसंगत नहुने भन्दै राष्ट्र निर्माणमा उनले पुर्याएको योगदान बिर्सिन नहुने बताए ।

लेखक तथा बुद्धिजीवी विकलचन्द्र आचार्यले गोरखा जिल्लाको प्राचीनकालदेखिको इतिहास केलाउँदै पृथ्वीनारायण शाहको एकीकरण अभियानको विस्तृत जानकारी दिएका थिए । लेखक हेमन्त पौडेलले नेपाल एकिकरण राष्ट्र निर्माण कि युद्ध अपराध विषयमा एक प्रस्तुति गरे ।

कार्यक्रममा एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहा मगर, विश्व हिन्दू महासंघका युरोप संयोजक खगेन्द्र पाठक, पर्यटन बोर्डका पूर्व प्रतिनिधि तथा समाजसेवी ध्रुव केसी, साहित्यकार हरिसिंह थापा, कृष्णजंग शाह, कृष्णप्रसाद ढकाल, रमेश लामा , महेश रेग्मी लगायतका वक्ताहरुले नेपाल राष्ट्रका निर्माताको रुपमा पृथ्वीनारायण शाहको योगदान सदैव स्मरणयोग्य रहने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा लण्डनस्थित नेपाली दूतावासका मिलिटरी एट्याजी कर्णेल कुमारबाबु थापा पनि उपस्थित थिए । कार्यक्रमको सुरुमा अतिथि तथा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्विरमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । देशमा गणतन्त्र स्थापना भएलगत्तै नेपाल सरकारले मनाउन छोड्दा समेत संयुक्त राष्ट्रवादी संगठन बेलायतले भने पृथ्वी जयन्ती तथा एकता दिवस हरेक वर्ष कार्यक्रम आयोजना गरी मनाउंदै आएको छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु भएकाले उहाँको सम्मानमा जन्मजयन्तिको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो। पृथ्वी जयन्तिको दिन दिँदै आएको विदा कटौति गरेपनि सरकारले राष्ट्रिय एकता दिवसलाई आदरभावका साथ मनाईरहेको छ ।

लन्डनमा धूमधामले मनाइयो २ सय ९७ औं पृथ्वीजयन्ती लन्डन नेपाल न्यूज डटकमको प्रत्यक्ष प्रसारण प्रकाश कंडेल [भिडियो सहित]

 

 

 

 

फेसबुक कमेन्ट