सिड्नी । नेपालमा सञ्चालित मानव सेवा आश्रमको सहयोगार्थ अस्ट्रेलियाका विभिन्न राज्यहरुमा समिति गठन गरिएको छ । एक दशक भन्दा लामो समयदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी, सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको आश्रमको सहयोगका लागि अस्ट्रेलियामा रहेका नेपालीहरु एकताबद्ध भएका छन् । उनीहरुले अस्ट्रेलिया मूलको सिंगो समिति र प्रत्येक राज्यमा राज्य स्तरको समिति निर्माण गरी आश्रमको सहयोगका लागि एकजुट भएका हुन् ।
पिकनिक आयोजना गरेर अस्ट्रेलियाका प्रत्येक राज्यको राज्य समिति चयन गरिएको छ । आश्रमको नेपालमा कुनै भरपर्दो स्थायी स्रोत नभएको र विभिन्न दाताहरुकै सहयोगबाट सञ्चालित रहेकाले यस महान उद्धेश्यमा सबैलाई आबद्ध गर्दै समिति गठन गरिएको मानव सेवा आश्रम अस्ट्रेलियाका अध्यक्ष त्रिलोचन पोखरेलले जानकारी दिए । अस्ट्रेलियामा पोखरेलको अध्यक्षतामा, उपाध्यक्ष उत्तम ताज्ह्या, महासचिव बद्री अर्याल, कोषाध्यक्ष राजु पोखरेल, सहकोषाध्यक्ष सुजन श्रेष्ठ, आईटी संयोजक पुरु थापा, मिडिया तथा प्रचारप्रसार संयोजकमा ईश्वर ढकाल र जनसम्पर्क अधिकृतमा राजु पोखरेल र योगेश जोशी रहेको कार्यसमिति यस अगाडी नै निर्माण गरिएको थियो भने केही दिन अगाडी प्रत्येक राज्यमा समिति गठन गरिएको छ ।
गठित समिति मध्ये क्यानबेरा राज्यको संयोजकमा प्रदिप तिमिल्सिना, न्यू साउथ वेल्स संयोजकमा आनन्द श्रेष्ठ, भिक्टोरिया संयोजकमा पुरु थापा, क्वीसल्याण्डको संयोजकमा सुमन अधिकारी, साउथ अस्ट्रेलियाको संयोजकमा खगेन्द्र सापकोटा, वेस्टर्न अस्ट्रेलिया संयोजकमा रुष्टम मास्के, तास्मानिया संयोजकमा रोजिना ताम्राकार र नर्देन टेरोटरीको संयोजकमा निरोज देवकोटा चयन भएका छन् । मानव सेवा आश्रममा आबद्ध भएका झण्डै ८० जना भन्दा बढीको कार्यक्रममा उपस्थिति रहेको थियो । आश्रमका संस्थापक/अध्यक्ष रामजी अधिकारी हुन् । मानवसेवा आश्रम वि.सं. २०७३ मा “सबैको लागि खाना, नाना र छाना“ उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा वि.सं. २०७३ साउन ०२ गते दर्ता भएको र खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगी) मानवहरुको सेवा गर्ने उद्धेश्यले मकवानपुरको हेटौंडाबाट सुभारम्भ भएको परोपकारी संस्था हो ।
मानवसेवा आश्रमको विराटनगर, सर्लाही, वीरगञ्ज, लमजुङ, बागलुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर, झापा, हेटौंडा, चितवन र बुटवलमा शाखा रहेका छन् । आश्रमको संरक्षणमा हाल झण्डै २ हजार जना बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त भएकाहरु छन् । कुनै पनि अन्तर्राष्ट्रिय दातृनिकायसँगको साझेदारी बिना नेपाल सरकारको आंशिक अनुदान र परोपकारी नेपालीहरूको स्वेच्छिक सहयोगमा आश्रमले देशभरबाट उद्धार गरिएका सहयोगापेक्षीको सेवा गर्दै आएको छ । सडकबाट उद्धार गरिएकाहरुलाई आश्रमले आश्रममै राख्ने र परिवारसंग पुर्न मिलन गराउने पनि गरेको छ ।






