काठमाडौँ– आईजीपी नियुक्तिसम्बन्धी विवादमा डिआईजी नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको फैसला आज सुनाउने तय तयारी गरिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासले गत भदौ १५ मा वादी र प्रतिवादी दुवै पक्षको बहस सुनेको थियो । सुनुवाइ सोहि दिन सकिएको थियो ।
सिलवालले कार्यसम्पादन र मूल्याङ्कनमा आफू पहिलो स्थानमा हुँदाहुँदै पहिला जयबहादुर चन्द र पछि प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेर आफूमाथि अन्याय भएको जनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सिलवालका पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, बद्रीबहादुर कार्की, तुलसी भट्ट तथा अधिवक्ता टीकाराम भट्टराई, दीपेन्द्र झालगायतले बहस गरेका थिए । सरकारका तर्फबाट तत्कालीन महान्यायाधिवक्ता रमण श्रेष्ठले समेत बहस गरेका थिए ।
सरकारले प्रहरी महानिरीक्षकमा चन्दलाई बढुवा गरेपछि सिलवालले आफूलाई अन्याय भएको जनाई निवेदन दिएका थिए । त्यसको सुनुवाइमा अदालतले कार्यसम्पादन र मूल्याङ्कनका आधारमा बढुवा गर्न परमादेश दिएको थियो । अदालतको उक्त आदेशपछि सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई बढुवा गरेको थियो ।
अर्यालविरुद्ध पनि सिलवालले निवेदन दायर गरेका थिए । त्यसको सुनुवाइपछि अदालतले सरकारका नाममा कारण देखाऊ आदेश दिएको थियो । त्यसपछि भदौ १५ मा बहस सकिएर निर्णय सुनाउने तय गरिएको हो ।






