आर्मीको लगातार पाँचौँ जीत

काठमाडौँ, २ चैत । सिनियरतर्फको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र क्षेत्र नं. ६ बैतडी विजयी भएका छन् । पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा आर्मीले क्षेत्र नं. २ वीरगन्जलाई १४५ रनको भारी अन्तरले हरायो । यो सँगै समूह ए को समिकरण पूरा भएको छ । लगातार पाँच खेलमा शतप्रतिशत जीत निकालेको आर्मी शीर्ष स्थानमा रहँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो भने हारका बावजुद यसअघि नै तीन जीत निकालेको वीरगन्ज दोस्रो हुँदै सेमिफाइनलमा स्थान बनाउँन सफल भयो ।
त्यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बैतडीले क्षेत्र नं. ९ धनगढीलाई सात विकेटले स्तब्ध पा¥यो । समूह बी मा एक–एक खेल मात्र खेलेका दुवै टोलीको पहिलो जीत र पहिलो हार हो । टस हारेर व्याटिङको निम्तो पाएको आर्मीले पूरै ओभरमा खेल्दै नौ विकेट गुमाएर २६२ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा आएको वीरगन्जले २६.२ ओभरमै सबै विकेटको क्षतिमा ११७ रन मात्र बनाउँन सक्यो ।
आर्मीको जीतका लागि अनिल मण्डलले बनाएको ११३ रनको पारी प्रमुख रह्यो । त्यस्तै अविजित रहँदै विक्रम सोभले ४३ बलमा ५३ रन बनाउँनुभयो । आर्मीका लागि शतक र अर्धशतक बनाएका दुवै खेलाडी प्लेयर अफ द म्याच भए । यसअघि वीरगन्जका अनिल साह तथा अमित श्रेष्ठले क्रमशः ४३ र ३६ रन अन्य व्याट्सम्यान आर्मीको कसिलो बलिङसामु टिक्न सकेनन् र सस्तैमा आउट भए ।
आर्मीका विक्रम तथा राहुल विश्वकर्माले चार–चार विकेट लिएका थिए । अर्को खेलमा टस हारेर व्याटिङ गरेको धनगढीले ३७.२ ओभरमा सबै विकेट गुमाएर ८९ रनको झिनो लक्ष्य मात्र दिएको थियो । जवाफी व्याटिङमा आएको बैतडीले २० ओभरमै मात्र तीन विकेटको क्षतिमा सजिलै लक्ष्य भेट्टायो ।
यसअघि बैतडीका प्लेयर अफ द म्याच घोषित योगेन्द्र कार्कीले पाँच विकेट लिएपछि धनगढी सस्तैमा सेमिटिएको थियो । लक्ष्य सजिलै भेट्टाउन बैतडीका प्रेम तामाङले अविजित ३१, रोशन नेपालीले २२, योगेन्द्रले अविजित १६ तथा प्रशान्त विष्टले नौ रनको बनाए । धनगढीका राजु रिजालले ३९ रन बनाउँदा अन्यले व्याट्सम्यानले दोहोरो रन समेत बनाउन सकेनन् । धनगढीका लागि विनोद लामाले तीनै विकेट लिनुभएको थियो ।
दुवै खेलका ‘म्यान अफ द म्याच’ले डोमियर सपिङ एण्ड सुटिङ सेन्टरको तर्फबाट रु तीन हजार बराबरको गिफ्ट ह्याम्पर र ट्रफी प्राप्त गर्नुभयो । प्रतियोगिताअन्तर्गत मङ्गलवार टियू मैदानमा क्षेत्र नं. ७ जनकपुर र क्षेत्र नं. ८ पोखरा तथा पुल्चोकमा क्षेत्र नं. ४ भैरहवा र क्षेत्र नं. ९ धनगढीवीच भिडन्त हुनेछ ।