काठमाडौं, १ चैत । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल छनोट चरणको पहिलो खेलको दोस्रो लेगमा नेपालले मंगलबार भारतसंग घरेलु मैदान दशरथ रंगशालामा खेल्दैछ । प्रतियोगिताको खेल आयोजना तयारी पूरा भएको आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
यसअघि भारतको गुवाहाटीमा गत बिहीबार भएको पहिलो लेगको खेलमा नेपाल २-० ले पराजित भएको थियो । नेपालले विश्वकप छनोट तथा सन् २०१९ को एसिया कपको दोस्रो चरण प्रवेश गर्नका लागि कम्तीमा तीन गोलको अन्तरले भारतलाई पराजित गर्नुपर्ने हुन्छ ।
मंगलबार दिउँसो साढे ३ बजेदेखि सुरु हुने खेलका लागि आयोजक एन्फाले टिकट मूल्य भने बढाएको छ । साधारण प्यारापिटको मूल्य सात सय रुपैयाँ तथा भिआईपीतर्फ १५ सय रुपैयाँ बनाइएको छ । साधारण प्यारापिटमा आठ हजार तथा भीआईपीतर्फ दुई हजार टिकट विक्री गरिने पनि एन्फाले जनाएको छ । एक खेल आयोजना गर्न झण्डै ३० लाख रुपैयाँ खर्च हुने पनि एन्फाले जनाएको छ ।
नेपाल र भारत काठमाडौंमा भिड्दै






