बेरुत, १ चैत । सिरियामा चार वर्षको युद्धमा दुई लाख १५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार दिएको छ । यस मुलुकमा यो क्रूर युद्ध पाँचौँ वर्षमा प्रवेश गरेको छ । बेलायतमा केन्द्रीय कार्यालय रहेको अब्जरभेटरीले सिरियामा सन् २०११ को मार्चदेखि दुई लाख १५ हजार ५१८ व्यक्तिको मृत्यु भएको विवरण तयार गरेको जानकारी दिएको छ । मर्ने व्यक्तिमा ६६ हजार भन्दा बढी सामान्य नागरिक परेको बताइएको छ ।
गत पाँच साताको समयमा करिब पाँच हजार व्यक्तिको मृत्यु भएको जानकारी दिइएको छ ।
मरेका नागरिकमा १० हजार ८०८ बालबालिका परेको तथा करिब सात हजार महिलाको मृत्यु भएको उक्त समूहले जानकारी दिएको छ । मर्नेमा सामान्य नागरिकको सङ्ख्या एक तिहाइ रहेको छ भने द्वन्द्वमा मारिएका बहुसङ्ख्यक लडाकू रहेको बताइएको छ ।
सरकारी पक्षमा ४६ हजार १३८ सैनिक मरेको बताइएको छ । यसका साथमा सरकार समर्थक ३० हजार भन्दा बढी लडाकूको मृत्यु भएको जानकारी अब्जरभेटरीले दिएको छ । सरकारी सेनाको साथमा विदेशबाट आएका तीन हजार ४०१ सिया लडाकूको पनि यस यद्धमा मृत्यु भएको बताइएको छ । यसमा सयौँ व्यक्ति लेबनानको हेजबोल्लाह आन्दोलनका सदस्य भएको बताइएको छ ।
विद्रोहीतर्फ करिब २७ हजार जिहादीको मृत्यु भएको र उनीहरू इस्लामिक स्टेट समूह तथा अल–कायदासँग आवद्ध अल–नुस्र फ्रन्टका सदस्य भएको बताइएको छ । अब्जरभेटरीले ३९ हजार अन्य विद्रोही लडाकूको मृत्यु भएको जानकारी दिएको छ । त्यसमा उत्तर तथा पूर्वी भागमा जिहादीसँग युद्ध गर्ने कुर्द लडाकू समावेश भएको बताइएको छ ।
यस संस्थाले मरेका तीन हजार १४७ व्यक्तिको पहिचान खुल्न नसकेको जानकारी दिएको छ । अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले यो तथ्याङ्क पूर्ण नभएको जानकारी दिनुभएको छ । उहाँले मर्ने व्यक्तिको सङ्ख्या दुई लाख १५ हजार भन्दा निकै बढी भएको बताउनुभयो । उहाँले हराएका व्यक्तिको अवस्थाका विषयमा अझै जानकारी प्राप्त गर्न नसकिएको बताउनुभयो । उहाँले करिब २० हजार व्यक्ति सरकारी हिरासतमा हराएको बताउनुभयो ।
उहाँले अपहरणमा परेका सबै पक्षका हजारौँ नागरिक तथा योद्धाको अवस्था अझै थाहा हुननसकेको जानकारी दिनुभयो । उहाँले दुई लाख १५ हजार भन्दा बढी व्यक्तिको हत्या भएको तथा अन्तर्राष्ट्रिय समुदाय चुप रहेको र कुनै पनि अपराधमा अन्तर्राष्ट्रिय अदालतमा कारवाही नभएको बताउनुभयो । उहाँले दण्डहीनताले हत्यारालाई उनीहरूको अपराध निरन्तर राख्न अभिप्रेरित गरेको बताउनुभयो ।
सिरिया युद्धमा दुई लाख पन्ध्र हजारको मृत्यु






