ललितपुर, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विधान र सिद्धान्तविपरीत काम गरेको भन्दै असन्तुष्ट पक्षको समानान्तर केन्द्रीय कार्य समितिको आज पहिलो बैठक बसेको छ । गत फागुन २५ मा स्थापना भएको कार्य समितिले आजको पहिलो बैठकमा पार्टी र देशको रक्षाका लागि आफूहरुले नयाँ कार्य समिति गठन गरी काम सुरु गर्नु परेको समितिका अध्यक्ष पद्मसुन्दर लावतीले बताउनुुभयो ।
अध्यक्ष लावतीका अनुसार निर्माण गरिएको नयाँ कार्य समितिको सिद्धान्त र कार्यदिशा आगामी दिनमा जिल्ला र गाउँगाउँसम्म लगिनेछ । समितिका प्रवक्ता सगुनसुन्दर लावतीले समान विचार, धारणा भएका दल, समूह र व्यक्तिसँग सहकार्य गर्ने बताउनुभयो ।
उहाँले बैठकमा प्रस्तुुत गर्नुभएको कार्यपत्रमा निर्वाचन क्षेत्र वा जिल्लामा खर्च गर्नका लागि छुट्याइएको सांसद् विकास कोषको रकम अन्य जिल्लामा खर्च गर्न नहुने, वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवती कामदार अलपत्र परेमा उनीको सुरक्षाका लागि पहल गर्ने, मुलुकलाई संवैधानिक राजनीतिक निकास दिनका लागि नेपाली काँग्रेस नेतृत्वको सरकारमा रहेको नेकपा (एमाले) र तत्कालीन वाम मोर्चासमेतले बनाएको नेपालको संविधान २०४७ लाई पुनःस्थापित गर्नुपर्नेलगायत उल्लेख छ ।
राप्रपा नेपाल समानान्तर समितिको बैठक






