कुन विश्‍वविद्यालयमा कति क्षति?

काठमाडौं : भूकम्पका कारण भवन भत्किएपछि राजधानीका क्याम्पसहरूमा नियमित पठनपाठनमा समस्या हुने भएको छ। विश्वविद्यालय अनुदान आयोगका अनुसार त्रिविमा भवनमात्र भत्किँदा दुई अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ।
भत्किएका भवनमा रहेका प्रयोगशाला तथा अन्य उपकरणको हिसाब गर्न बाँकी रहेको आयोगका सदस्यसचिव भोला पोखरेलले बताए। भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका राजधानीका त्रिचन्द्र, ललितकला, पाटन, शंकरदेव, मीनभवनलगायत आधा दर्जन क्याम्पसमा क्षति पुगेको छ।
यीमध्ये ललितकला क्याम्पसमा सबैभन्दा धेरै क्षति पुगेको छ। उक्त क्याम्पस पढाइ तथा अन्य प्रशासनिक कार्यसमेत गर्न नसकिने गरी भत्किएको छ।
क्याम्पसमा छिर्नै नसक्ने गरी भवन भत्किएपछि क्याम्पसका कर्मचारी तथा प्राध्यापकले त्रिचन्द्र क्याम्पसको एउटा कोठामा नियमित हाजिर गर्दै आएका छन्।
त्रिचन्द्रका क्याम्प प्रमुख हरि थपलियाले ललितकला क्याम्पसको अनुरोधमा हाजिरीका लागि कोठा उपलब्ध गराइएको बताए। भूकम्पका कारण त्रिचन्द्र क्याम्पसको पनि घन्टाघर वरपर रहेको ब्लक भत्किएको छ।
उक्त ब्लकमा रहेका १५ वटा कोठा प्रयोग गर्नै नमिल्ने गरी भत्किएको छ। भवन चार्किएको कारण उक्त क्षेत्रमा जानै नसकिने भएको छ। क्याम्पस प्रमुख थपलियाका अनुसार उक्त ब्लकमा भूगर्भशास्त्र, नेपाली, ग्रामीण विकास, अंग्रेजी, मनोविज्ञानलगायत आधा दर्जन विषयका विभागहरू प्रभावित भएका छन्।
थपलियाले भने, ‘यो ब्लकमा रहेका तीन हजार विद्यार्थीको पठनपाठन अवरुद्ध हुने भएको छ। अर्कै ब्लकमा रहेका कोठाहरू प्रयोग गर्दा पनि पुर्‍याउन नसकिने भएको छ।
चन्द्रशमशेरको पालाको यो भवन बनाउन राज्य तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय दातृ निकायलाई सहयोगका लागि अनुरोध गर्छु।’
भूकम्पका कारण शंकरदेव क्याम्पसको भवन पनि भत्किएको छ। भवन भत्किए पनि पढाइ पूरै प्रभावित नहुने क्याम्पसले जनाएको छ।
पाटन क्याम्पसको चारवटा भवन भत्किएको निमित्त रजिस्ट्रार देवराज अधिकारीले बताए। उनका अनुसार शिक्षाशास्त्र, विज्ञान संकायको डिन कार्यालय पनि भत्किएको छ। कीर्तिपुरमा रहेको स्मृति भवन भत्किएको छ।
कीॢतपुरमा रहेको त्रिवि केन्द्रीय कार्यालय भत्किएका कारण त्रिविका पदाधिकारी पनि अस्थायी कार्यालय खोलेर बसेका छन्। भूकम्पका कारण त्रिविले आउने जेठ २२ गतेसम्मका लागि आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पसमा पढाइ स्थगित गरेको छ।
भूकम्पकै कारण त्रिविले स्नातक तथा स्नातकोत्तर तहका परीक्षासमेत अनिश्चितकालका लागि स्थगित गरेको छ।
रजिस्ट्रार अधिकारीले भने, ‘कहाँ कति क्षति पुग्यो भन्ने तथ्यांक अझै आएको छैन। उपत्यकाबाहिरका पनि थुप्रै क्याम्पसमा क्षति पुगेको छ।’ जेठ २२ गतेसम्मका लागि पढाइ स्थगित गरिए पनि भवन भत्किएका केही क्याम्पसमा पढाइ सञ्चालन गर्न कठिन हुने त्रिविका पदाधिकारीहरूले बताएका छन्।
भूकम्पकै कारण अन्य विश्वविद्यालयमा पनि क्षति पुगेको छ। विश्वविद्यालय अनुदान आयोगका पोखरेलका अनुसार नेपाल संस्कृत विश्वविद्यालयमा साढे १३ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।
काठमाडौं विश्वविद्यालयको कलेज अफ आर्ट्सको भवन कामै नलाग्ने गरी भत्किएको छ। उक्त विश्वविद्यालयकै कर्मर्स सेक्सनको भवन पनि भासिएको पोखरेलले बताए।
भूकम्पको कारण चितवनको रामपुरमा रहेको वन तथा कृषि विश्वविद्यालयमा १४ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ।