वैशाख ३१ का लागि ढुक्क हुनुसः प्रधानमन्त्री

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचन तयारीबारे आज निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ ।

बालुवाटारस्थित आफ्नै निवासमा उहाँले प्रमुख निर्वाचन आयुक्तसहित पाँचैजना आयुक्तसँग निर्वाचनको तयारी र सरकारले गर्नुपर्ने दायित्वबारे छलफल गर्नुभएको हो ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले अहिलेसम्म गरेका तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“आयोगको यो नियमित भेटघाट हो, निर्वाचन सम्बन्धी अयोगले अहिलेसम्म गरेको तयारीबारे छलफल भयो,” उहाँले भन्नुभयो– “निर्धारित मितिमै निर्वाचन गराउन आयोग प्रतिबद्ध छ, आयोगको कामप्रति प्रधानमन्त्रीले धन्यवाद पनि दिनुभयो ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले राजनीतिक वातावरण बनाईदिन आयोगले गरेको आग्रहमा प्रधानमन्त्रीले राजनीतिक सहमतिको वातावरण बनाउन दिनरात लागि परेका छौँ, सहमतिको अनुकूल वातावरण बन्नेमा विश्वास दिलाउनुभएको छ भन्नुभयो ।