काठमाडौं १५ असोज । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीको कप्तानबाट पारस खड्कालाई हटाएकोे खबरले शुक्रबार निकै चर्चा पायो ।
पारस सन् २०१० देखि नेपाली क्रिकेट टोलीको कप्तान छन् । र, उनको कप्तानीमा नेपालले टी-२० विश्वकपसम्मको यात्रा तय गर्यो । तर, क्यानको कमजोर व्यवस्थापनप्रति पारसले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् ।
यस विषयलाई लिएर क्यानका सदस्यहरु असन्तुष्ट रहेका छन् । उनीहरुले पारस क्यानविरुद्ध लागेको आरोप लगाउँदै आएका छन् ।
यो साता राजधानीमा क्यानको बोर्ड बैठक बसिरहेका बेला राष्ट्रिय खेलकुद परिषद्ले विघटन गर्ने तयारी गरिरहेको खबर आयो र राखेपसँगको छलफलमा पारससहितका खेलाडी उपस्थित भएपछि क्यानका केही पदाधिकारीले चर्को आलोचना गरे ।
त्यही मौकामा क्यानका केही पदाधिकारीले पारसलाई कप्तानबाट हटाउने निर्णय भएको हल्ला चलाए । अनलाइनखबरसँग कुरा गर्दै ती पदाधिकारीले भने- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत पपुवा न्यूगिनीसँगको खेलमा पारसलाई कप्तान नबनाउने निर्णय भएको छ ।’
ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर र विनोद भण्डारी मध्ये एकलाई कप्तानी दिने निर्णय भएको उनको दावी छ । निर्णयको माइन्यूट तपाईंहरुसँग छ ? भन्ने प्रश्नमा उनी केही हच्किए । माइन्यूटको निर्णय महासचिव उत्तम कर्मचार्यसँग रहेको उनले बताए ।
पारसलाई कप्तानबाट हटाउने निर्णय भएको समाचारले खेलाडीदेखि अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको समेत ध्यान तानेको छ ।
खेलाडीहरुले क्यानका अधिकारीहरुलाई निर्णयबारे प्रश्न गरिरहेका छन् । तर, क्यानले अहिलेसम्म समाचारको न त औपचारिक रुपमा खण्डन गरेको छ न त पुष्टी नै ।






