इस्लामाबाद – पाकस्तिानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि ब्रिक्स राष्ट्रहरुलाई दिग्भ्रमित पार्ने प्रयास गरेको अरोप लगाउँदै जम्मु र कश्मिरमा भइरहेको अत्याचारलाई लुकाउन ‘भरपुर’ प्रयास गरिरहेको आरोप लगाएको छ । गत जुलाईदेखि कश्मिरमा शुरु भएको हिंसामा ८० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
‘भारत नियन्त्रिण कश्मिरमा आत्मनिर्णयको अधिकार माग्ने जनतामाथि भारतले नरसंहार गरिरहेको छ,’ सोमबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफका विदेश नीतिसम्बन्धि सल्लाहकार सरताज अजिजले बताएका छन् ।
‘पाकिस्तान बिना कुनै भेदभाव आतंकवाद, पाकिस्तानको भूमिमा भइरहेको भारतद्वारा प्रायोजित आतंकवादसहित, बिरुद्ध लड्न ब्रिक्स र बिम्सटेकका राष्ट्रहरुसँगै आफ्नो प्रतिबद्धता व्यक्त गर्दछ,’ उनको वक्तव्यमा उल्लेख छ ।
मोदीले सम्मेलनका दौरान पाकिस्तानलाई विश्वभरको ‘आतंकवादको जननी’ भनेर बताएपछि पाकिस्तानको तर्फबाट कडा वक्तव्य आएको हो ।
सम्मलेनमा मोदीले ब्राजिल, रसिया, चीन र दक्षिण अफ्रिकालाई आतंकवादविरुद्ध एकजुट हुन र पाकिस्तानलाई लक्षित गर्दै क्रस ब्रोडर आतंकवादविरद्ध लड्न आग्रह गरेका थिए ।
गत सेप्टेम्बर १८ मा जम्मु र कश्मिरमा रहेको आर्मीको बेसमा भएको आतंकवादी हमलामा १९ जना भारतीय सैनिक मारिएपछि दुई देशबीच तनाव बढेको छ । भारतले पछि पाकिस्तानी भूमिमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको थियो ।
पाकिस्तानले उरीमा भएको उक्त हमलामा आफ्नो कुनै हात नरहेको र भारतले सर्जिकल स्ट्राइक नगरेको दाबी गर्दै आइरहेको छ ।
अजिजले वक्तव्यमा संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च आयुक्त र अर्गनाइजेसन अफ इस्लामिक कोओपरेसनसँग कश्मिरमा भइरहेको अत्याचारबारे छानविन गर्न टोली पठाउन समेत माग गरेका छन् ।
अजिजले पाकिस्तानी भूमिमा भइरहेको आतंकवादलाई सहयोग गरिरहेको आरोप भारतमाथि लगाउँदै ऊसँग आतंकवादविरुद्ध कुरा गर्ने र कसैमाथि औँला उठाउने नैतिक धरातल नभएको दाबी गरेका छन् ।






