काठमाडौँ- संघीय समाजवादी फोरम नेपालले एकीकरणका लागि पहल गर्दै वार्ता समिति गठन गरेपनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
राजपा नेपाल अध्यक्षमण्डलको बैठक हिजो बसेको थियो । तर, बैठक फोरम नेपालले गठन गरेको वार्ता समितिको बारेमा मौन देखिएको छ । मंसिर २२ गते बसेको फोरम नेपालको केन्द्रीय समितिको बैठकले पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय वार्ता समिति गठन गरेको थियो ।
फोरम नेपालले वार्ता समिति गठन गरेपछि राजपा नेपालको हिजोको बैठक पहिलो थियो । बैठकमा फोरम नेपालसँग एकीकरणको बारेमा पनि छलफल हुने धेरैको अपेक्षा थियो । तर त्यसको बारेमा कुनै चर्चा नै भएन ।
यद्यपि, अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले फोरम नेपाल सरकारबाट फिर्ता नभएसम्म कुनै प्रकारको वार्ता नहुने धारणा सार्वजनिक गरिसकेका छन् ।
अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारी, राजकिशोर यादवले पनि समान धारणा सञ्चार माध्यममार्फत सार्वजनिक गरिसकेका छन् ।
यता, फोरम नेपाल भने राजपा नेपालसँग एकीकरण हुनेमा आशावादी छ । वार्ता समितिमा समेत रहेका फोरम नेपालका महासचिव रामसहाय यादवले भने, ‘राजपा नेपालसँग एकीकरण हुनेमा हामी आशावादी छौं, ढिलो–चाँडो एकीकरण हुन्छ ।’ राजपा नेपालसँग हालसम्म कुनै औपचारिक वार्ता शुरु नभएको बताउँदै उनले सो दलका दोस्रो तहका नेताहरुसँग भने अनौपचारिक छलफलहरु भइरहेको बताए ।
मधेशको अधिकार र पहिचानका लागि यी दुई दल मिल्नुको विकल्प नरहेको बताउँदै महासचिव यादवले मुद्दा, विचार, एजेण्डा मिल्ने जोसँग पनि फोरम नेपालको एकीकरण हुने बताए । राजपा नेपालसँग मात्र होइन, अन्य साना दलसँग पनि एकीकरणका लागि कुराकानी भइरहेको उनले बताए ।
फोरम नेपाल सरकारबाट फिर्ता भएपछि मात्र वार्ता हुने राजपा नेपालका नेताहरुको धारणाबारे राखेको जिज्ञासामा उनले त्यस्तो धारणाको बारेमा आफू जानकार नभएको बताए । उनले भने, ‘राजपा नेपालले पनि त सरकारलाई समर्थन गरेको छ, उसले पनि समर्थन फिर्ता लिनुपर्ने होइन ? त्यसैले छलफल र वार्ता शुरु भएपछि यी कुराहरुमा बहस हुन्छ । अहिले नै यी कुराहरुमा टिप्पणी गर्नु बेकार छ ।’
यसकारणले हुँदैन वार्ता
राजपा नेपाल अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले बैठकमा पार्टी एकीकरणको एजेण्डाले प्रवेश नगरेको बताए । ‘छोटो समयका लागि बैठक बसेको थियो, यो विषयमा कुनै चर्चा नै भएन,’ उनले भने, ‘फोरमले पार्टी एकीकरणका लागि वार्ता समिति गठन गरेको छ तर त्यसको कुनै औपचारिक जानकारी हाम्रो पार्टीमा आएको छैन । आएको भए सायद हामीले त्यसमा छलफल गर्थ्र्यौँ ।’
फोरम नेपाल सरकारभित्र र राजपा नेपाल सरकार बाहिर रहेको हुनाले वार्ता हुन नसक्ने बताउँदै नेता भण्डारीले भने, ‘एकीकरणका लागि प्राविधिक समस्या छ । फोरम सरकारमा छ, हामी सरकार बाहिर छौँ । यसले वार्ताका लागि समस्या हुनसक्छ ।’
फोरम नेपाल पनि विभिन्न दल मिलेर बनेको नयाँ पार्टी र राजपा नेपाल पनि विभिन्न छवटा पार्टी मिलेर बनेको नयाँ पार्टी भएको हुनाले पनि एकीकरणमा समस्या हुनसक्ने उनको धारणा छ । दुवै पार्टीले आआफ्नो पार्टीको एकता महाधिवेशन तय गरेको र दुवैको महाधिवेशन सम्पन्न भएपछि एकीकरणको लागि प्रयास भयो भनेसजिलो हुने भण्डारीको तर्क छ ।
‘अहिले राजपा नेपालमा छजना अध्यक्ष छन्, सांगठनिक संरचना तलदेखि माथिसम्म मिलेको छैन । महाधिवेशन भएपछि मात्र यी सबै कुरा मिल्छ । त्यस्तै हालत फोरमको पनि छ,’ भण्डारीले भने, ‘फोरम नेपाल एकल नेतृत्वबाट चलेपनि सांगठनिक संरचना पूर्ण मिलेको छैन । उसको पनि महाधिवेशन भएपछि मात्र सबै कुरा मिल्छ । दुवै दलले बैशाखमा महाधिवेशन गर्ने मिति तय गरिसकेको छ ।’
सरकारलाई राजपा नेपालले समर्थन दिएपनि सरकारमा सहभागी नभएको बताउँदै भण्डारीले राजपा नेपाल जुनसुकै बेला पनि समर्थन फिर्ता लिने अवस्थामा पुगेको उनले बताए । पार्टीले प्रधानमन्त्रीलाई भेटेर सात दिनको अल्टिमेटम दिएको उल्लेख गर्दै उनले त्यो अवधिमा सविधान संशोधन भएन भने समर्थन फिर्ता हुनसक्ने दावी गरे । उनले भने, ‘हामी समर्थन फिर्ता लिएसँगै फोरम नेपाल पनि सरकारबाट बाहिरियो भने वार्ताका लागि एउटा वातावरण तयार हुनसक्छ ।’
सोही दलका अध्यक्षमण्डलका अर्का सदस्य महेन्द्र राय यादव भन्छन्, ‘एकता, एकीकरण, मोर्चा पहिचानका लागि आवश्यक छ । यसबाट कोही भाग्न मिल्दैन तर यसका लागि दुवै दलले वातावरण तयार गर्नुपर्छ ।’ आदिवासी जनजाति, दलित, मधेशीहरु एक आपसमा नमिलेसम्म पहिचानको लडाई जित्न नसक्ने बताउँदै नेता यादवले यसका लागि छलफल र वार्तालाई आगडि बढाउनुपर्छ ।’
एकीकरणका लागि भएको प्रयास
राजपा नेपाल बन्नुअघि पनि पुरानो तमलोपा र सद्भावना पार्टीसँग फोरमको एकीकरणको लागि प्रयास भएको थियो । एकीकरण अन्तिम चरणमा पुगिसकेको थियो । पार्टीको नाम, चुनाव चिन्ह, लोगो, राजनीतिक दस्तावेज, विधान सबै फाइनल भइसकेको थियो तर अन्तिममा नेतृत्वका विषयमा कुरा नमिल्दा एकीकरण भाँडिएको थियो ।
राजपा नेपाल बन्दा पनि फोरम नेपाललाई एकीकरणमा सहभागी हुन आग्रह गरिएको थियो । तर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘तपाईंहरु गर्दै गर्नुस्, पछि सल्लाह गरौँला’ भनेर पन्छिएका थिए ।
यस कारण हुन्छ एकीकरण
यी दुई दलको बीचमा एकीकरण होस् भन्ने भारतको पनि चाहना रहेको छ । यसको बारेमा विभिन्न स्तरमा कुराकानी पनि भइरहेको छ । अब पाँच वर्षपछि हुने निर्वाचनमा दुवै दल एकीकृत भएर भाग लिने तयारी भइरहेको छ । अघिल्लो चुनावमा गठबन्धन बनाएर लड्दा दुवै पार्टीलाई राम्रै फाइदा भएको छ । त्यसैले पनि अब एकीकरण नै गर्ने तयारीमा रहेको बताइन्छ ।
तीन प्रतिशत थ्रेसहोल्ड लगाउँदा थुप्रै पार्टी राष्ट्रिय पार्टी बन्नबाट बन्चित भएका छन् । सरकारले अब पाँच प्रतिशत थ्रेसहोल्ड लगाउने तयारी गरिरहेको छ । यसको बारेमा बहस शुरु भएको छ । यदी पाँच प्रतिशत थ्रेसहोल्ड लाग्यो भने फोरम र राजपा पनि राष्ट्रिय पार्टीको रुपमा आउन अप्ठ्यारो हुनेछ । त्यसले गर्दा यी दुई दललाई एकीकरणका लागि बाध्य पारेको राजपा नेपालका एक नेताले बताए ।
विशेष गरेर दोस्रो तहका नेताहरु एकीकरणका लागि नेतृत्वमाथि दबाब बढाइरहेका छन् । उनीहरु एक आपसमा दिनदिनै छलफल गरिरहेका छन् । तर एकीकरण नचाहने व्यक्ति दुवै दलमा रहेका हुनाले वतावरण बन्न नसकिरहेको राजपा नेपालका एकजना महासचिवले बताए ।






