देउवा सरकारले नियुक्त गरेका ३ राजदूत फिर्ता बोलाइयो

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बैठकले राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता गर्ने निर्णय गरेको हो । ती राजदूतलाई नेपाल फिर्ता हुन तीन साताको समय दिइएको छ ।

भुसाल र सिंह कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत भएका हुन् । सरकारले देउवाका पालामा नियुक्त चार राजदूत विश्वम्भर प्याकुरेल (श्रीलंका), प्रतिभा राणा (जापान), रमेश कोइराला (कतार), भीम उदास (म्यानमार) र ओलीकै अघिल्लो कार्यकालमा तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा नियुक्त शर्मिला पराजुली ढकाल (ओमन) लाई भने फिर्ता गरेको छैन । देउवाकै पालामा नियुक्त इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फर्काई त्यहाँ अञ्जान शाक्यलाई नियुक्त गरी एग्रिमोका लागि नाम पठाइसकेको छ ।

देउवाकै पालामा तत्कालीन माओवादी कोटामा नियुक्त लक्की शेर्पालाई भने अनुसन्धानका लागि काठमाडौं बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *