समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको राजपालाई प्रधानमन्त्रीले बालुवाटार बोलाए

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय जनता पार्टी नेपालसँग वार्ता गर्ने भएका छन् ।

राजपा नेपालले १ बजे बैठक बसेर समर्थन फिर्ता लगायतको विषयमा निर्णय गर्नै लाग्दा प्रधानमन्त्री ओलीले सो दलका नेतालाई विहानै १० बजे बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्री निवासमा हुने बैठकमा सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्न प्रधानमन्त्री ओलीले राजपाका अध्यक्ष मण्डललाई आग्रह गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

संविधान संशोधन सहितका विभिन्न माग राखी नेकपा नेतृत्वको सरकारलाई राजपा नेपालले मुद्दाको आधारमा‌ बाहिरबाट समर्थन गरिरहेको छ । तर, सरकार गठन भएको एक वर्ष हुनै लाग्दा पनि राजपाले अघि सारेका कुनै पनि मागप्रति सरकारले चासो नलिएको भन्दै समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको हो ।

दुई तिहाई बहुमतले बनेको सरकारले आफूहरूको माग बेवास्ता गर्ने नीति अख्तियार गरेको कुरा बुझे पछि सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको राजपा नेपालले जनाएको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रधानमन्त्रीले छलफल गर्न बोलाएकोले राजपा अध्यक्ष मण्डल बालुवाटार जान लागेको जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटघाट लगत्तै आज नै १ बजे पार्टी मुख्यालयमा‌ अध्यक्ष मण्डलको बैठक बस्ने महतोले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *