काठमाडौं– जम्बो केन्द्रीय समिति, पोलिटव्यूरो र सचिवालयबाट कुनै पनि निर्णय लिन कठिन भएको भन्दै माओवादी केन्द्रले ‘हेडक्वाटर’ नाम दिएको केन्द्रीय कार्यलय समिति बनाएको थियो । जहाँ विभिन्न धाराबाट एकीकृत भएका पार्टीका शीर्ष नेताहरु सम्मिलित थिए ।
तर, माअोवादीको हिजो बसेको ‘हेडक्वाटर’ को अन्तिम बैठकले ‘हेडक्वाटर’ नै विघटन गरेको छ । यो ३४ सदस्यीय थियो । अब यसको ठाँउमा केन्द्रीय सचिवालयले काम गर्नेछ । केन्द्रीय सचिवालय ९९ सदस्यीय हुनेछ । हाल यसमा करिव ८० जना सदस्य छन् ।
विघटित ‘हेडक्वाटर’ का एक सदस्यका अनुसार एकता प्रक्रियालाई सहज बनाउन यस्तो निर्णय लिइएको हो । ‘अहिले माओवादी केन्द्रले धुव्रीकरणको पहल गरिरहेको छ र भएको पनि छ । यस्तो अवस्थामा धुव्रीकरणमा आउने सबैले ‘हेडक्वाटर’ मै बस्न इच्छा गर्ने गरेको पाइयो । सबैलाई त्यसलाई समेटन पनि गाह्रो देखियो । यहीँ कारण ‘हेडक्वाटर’ नामक संरचना नै विघटन गरेर सचिवालयलाई कार्यकारी बनाइएको हो ।’ ती नेताले भने ।
‘हेडक्वाटर’ विघटन भएपछि एकता प्रक्रियामा आएका देवेन्द्र पौडेल र रामचन्द्र झा लगायतका अन्य नेताहरु केन्द्रीय सचिवालयका सदस्य हुनेछन् । अब एकता प्रक्रियामा आउने अन्य नेताहरु पनि सचिवालय सदस्य हुनेछन् ।
रुपान्तरित सचिवालयको बैठक भदो १६ मा बस्ने भनिएको छ ।
एमाओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा (माओवादी) लगायतका विभिन्न १० वटा पार्टी र समूहका नेताहरु एकता प्रक्रियामा सामेल भएर जेठ ६ गते नेकपा माओवादी केन्द्र गठन भएको थियो ।
१० माओवादी घटकको एकतापछि बनेको नेकपा माओवादी केन्द्रले नौ सदस्यीय हेडक्वाटर गठन गरेको थियो ।
एकतापछि संयुक्त सम्मेलनले प्रचण्डलाई अध्यक्ष चयन गरेपनि पार्टी एकल पदीयमा जाने कि बहुपदीयमा जाने भन्नेमा सहमति जुट्न सकेको थिएन ।
त्यसपछि तत्कालका लागि नौ सदस्यी केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको थियो । हेडक्वाटरमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा, देव गुरुङ, मात्रिका यादव, मणि थापा, तिलक परियार र जयपुरी घर्ती रहेका थिए ।
गाउँतहसम्मको एकता प्रक्रिया टुंगिएपछि समीक्षा गरेर बहुपदमा जाने निर्णय गरी कार्यविभाजन गरिने बताइएको थियो ।
त्यसपछि असार ८ गते केन्द्रीय कार्यालयको बैठकबाट ८५ सदस्यीय सचिवालयलाई बढाएर ९९ तथा ९ सदस्यीय केन्द्रीय कार्यालयलाई विस्तार गरी ३३ बनाएको थियो ।






