काठमाडौं । नेपालको निकै लोकप्रिय गायन रियालिटी शो ‘ नेपाल आइडल’ को दोस्रो संस्करण रवि ओडले जितेका छन् ।
शुक्रबार सांझ पुल्चोक ईञ्जिनियरिंग कलेजको ग्राउण्डमा सम्पन्न ग्राण्ड फिनालेमा धनगढिका रवि दोस्रो नेपाल आइडल घोषित भए ।
दोस्रो नेपाल आइडलमा विक्रम बराल फर्स्ट रनर अप, सुमित पाठक दोस्रो रनर अप तथा अस्मिता अधिकारी थर्ड रनर अप बन्न सफल भएका छन् ।
नेपाल आइडलको ताजसंगै रविले होन्डा डब्लुआरबी कार र २२ लाख रुपिया नगदको पुरस्कार जितेका छन् ।
फर्स्ट रनर अप विक्रमले नगद २० लाख , सेकेण्ड रनर अप सुमितले १२ लाख र थर्ड रनर अप अस्मिताले होन्डाको स्कुटी प्राप्त गरेका छन् । शीर्ष ४ प्रतिस्पर्धी सबैले विश्व भ्रमणको अवसर पनि प्राप्त गर्नेछन् ।
नेपाल आइडल २ को विजेता घोषित भएलगत्तै रविले यो जित आफ्नो मात्र नभएर फाइनलका ४ जना प्रतिस्पर्धीको भएको प्रतिक्रिया दिए । आफ्नो सफलताको लागि सहयोग गर्ने र माया दिने सबैप्रति उनले कृतज्ञता व्यक्त गरे ।
हजारौं प्रतिस्पर्धीहरुबाट चुनिएर नेपाल आइडल सिजन २ को फाइनलमा रवि , विक्रम, सुमित र अस्मिता पुगेका थिए ।
एपिवान एचडीमा प्रसारण भएको नेपाल आइडलमा निर्णायकको भुमिका न्यू बज्राचार्य, ईञ्दिरा जोशी र कालीप्रसाद बांस्कोटाले निभाएका थिए । नेपाल आईडलका प्रोजेक्ट हेड सुरेश पौडल हुन् ।






