लन्डन । सिरियामा सक्रिय १ लाख लडाकुमध्ये अधिकांशको उद्देश्य इस्लामिक अतिवादी समूहमा आबद्ध हुनु रहेको बेलायतस्थित ‘द सेन्टर अन रेलिजियन एण्ड जियोपोलिटिक्स’ ले गरेको अध्ययनले देखाएको छ ।
अध्ययनले सिरियाका ६० प्रतिशत मूख्य विद्रोही समुहहरु इस्लामिक अतिवादी रहेको र उनीहरुको उद्देश्य पनि आईएसमा आबद्ध हुनु रहेको देखाएको छ । यो संख्याले आईएसको अतिवादबाट विश्व थप आक्रान्त बन्न सक्ने उल्लेख गरिएको छ ।
संस्थाले आधुनिक विश्व पनि सिरियाली जिहादी समूहहरु जन्माउने आधारभूमि बनेको उल्लेख गरेको छ ।
उक्त संस्थामा आबद्ध बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आईएसलाई सैन्य रुपमा पराजित गर्दैमा विश्वव्यापी जिहादीको अन्त्य हुन नसक्ने बताए ।
यसका लागि आईएसको सिद्धान्तलाई बौद्धिक र आध्यात्मिक रुपमा पराजय गर्नु पर्ने ब्लेयरको भनाई थियो । सिरियामा सन् २०११ यता राष्ट्रपति बशर अल असदको शासन विरुद्धको संघर्षमा २ लाख ५० हजार मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका छन् । (एजेन्सी)







