काबुल, पुस ५ । अफगानिस्तानको हेलमन्द प्रान्तका उपगर्भनर मोहम्मद जान रसुलयारले फेसबुकको माध्यमबाट राष्ट्रपति असरफ घानीलाई पत्र लेखेर सहयोगको आग्रह गरेका छन् ।
फेसबुकमार्फत पत्र पठाएकोमा राष्ट्रपति रिसाउने भएपनि आफुसँग अरु कुनै विकल्प नभएको भन्दै रसुलयारले सरकारी माध्यमबाट पत्र पठाउंँदा यसको सुनुवाई नहुने जनाएका छन् ।
रसुलयारले दुई दिनमा ९० जना सेना मारिएको भन्दै प्रान्तमा सुरक्षास्थिति अत्यन्त बिग्रिएकाले राष्ट्रपतिले तुरुन्त हस्तक्षेप गर्नु पर्ने उल्लेख गरेका छन् । उनले पत्रमा तालिवानले प्रान्तका तीन जिल्ला कब्जा गरिसकेको र अरु दुई जिल्ला पनि उनीहरुको नियन्त्रणमा जान सक्ने खतरा बढेको उल्लेख गरेका छन् ।
अफगान सुरक्षा बल र विदेशी सेनाले कुनै मद्दत नगरेको गुनासो समेत रसुलयारको छ । (एजेन्सी)







