एजेन्सी – विश्व फुटबलका चर्चित देश अर्जेन्टिना र ब्राजिलले मैत्रीपूर्ण खेलमा विजयी भएका छन् । मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले लियोनल मेस्सीबिनै मोरोक्कोलाई १–० गोलले हरायो । अर्को खेलमा ब्राजिलले चेक रिपब्लिकलाई ३–१ गोलले स्तब्ध बनायो ।

मोरोक्कोको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनालाई जिताउन एन्जल कोरेराले खेलको अन्तिम समयमा गोल गरेका थिए । ८३ औं मिनेटमा वैकल्पिक खेलाडी कोरेराले गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । उनी ६२ औं मिनेटमा रोड्रिगो डि पउलको स्थानमा मैदान छिरेका थिए । नौ महिनापछि टोलीमा फर्किएका मेस्सी भेनेजुएलाविरुद्धको अघिल्लो खेलमा खेलेका थिए । उनी घाइते भएकाले मोरोक्कोविरुद्ध खेल्न सकेनन् । भेनेजुएलाविरुद्धको खेलमा अर्जेन्टिना ३–१ गेलले पराजित भएको थियो ।

यसैगरी ब्राजिलको जितमा ग्याब्रियल जिससले दुई तथा रोबर्टो फिर्मिन्होले एक गोल गरे । खेलमा सुरुवाती अग्रता घरेलु टोली चेक रिपब्लिकले लिएको थियो । ३७ औं मिनेटमा डेबिड पाभेल्कले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । पहिलो हाफमा पछि परेको ब्राजील दोस्रो हाफमा आक्रामक देखिएको थियो । ब्राजिलका रोबर्टो फिर्मिन्होले ४९ औ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि ग्याब्रियल जिससले ८३ औं र ९० औं मिनेटमा दुई गोल गर्दै ब्राजिललाई सजिलै जिताए ।

फेसबुक कमेन्ट