लण्डन । भुपु गौर्खा सैनिकहरुको अधिकारको निम्ती करिब दुई हप्ता अनशन बसेकी साहसी महिला पुष्पा राणा घलेले आफूहरुले गोर्खाहरुमाथि भएको अन्यायको विरुद्धमा अनशन बसेको बताएकी छन् ।
केही महिनाअघि १९९७ भन्दा अघिका भुपु गोर्खा सैनिकहरुले व्रिटिश सैनिकहरुसरह समान पेन्सन लगायतका विभिन्न मागहरु राख्दै उनीसहित तीन जना भुपु गोर्खाहरुले बेलायती प्रधानमन्त्री कार्यालयअघि १३ दिनसम्म भोक हड्ताल बसेका थिए ।
१३ औँ दिनसम्म अनशन बसेका उनीहरुलाई रक्षामन्त्री लिओ डोचर्टीसहितको टोली आएर अनशन तोडाएको थियो । अहिले बेलायत सरकारले आफूहरुका मागहरु सम्बोधन गर्न तयार रहेको कुरा जानकारी दिएको उनले बताइन् ।
बेलायत सरकार, नेपाल सरकार र भुपु गोर्खाको टोलीवीच वार्ता टोली बनाएर वार्ता गरी समस्या समाधान गर्नुपर्ने भन्दै उनले २१ डिसेम्बरमा हुने भनिएको वार्ताको लागि नेपाल सरकारले टोली नबनाएकोमा गुनासो पोखिन ।
उनले बेलायत गएको समयमा प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि वार्ता टोली गठन गर्न आग्रह गरिएको भन्दै समयमै वार्ता टोली गठन गरी नेपाल सरकारले बेलायत सरकारलाई जानकारी नदिएमा बेलायतले झन समय घर्काउने बताइन् ।
उनले नेपाल सरकारले उक्त पहलकदमी लिनेमा विश्वास रहेको भन्दै अब पनि नभएको खण्डमा प्रधानमन्त्री शेर बहादुर देउवाविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइन् ।
वार्ता समयमा नभएको घण्टामा नेपाल सरकारविरुद्ध सिंहदरबार अघि अनशन बस्ने समेत उनले चेतावनी दिइन् । बेलायत सरकार समेत वार्ताको लागि तयार भएको अवस्थामा पनि नेपाल सरकारले ढिलाई गरेको खण्डमा सिंहदरबार अघि अनशन बस्ने उनको चेतावनी छ ।
‘डिसेम्बर लाग्ने बेला आइसक्यो, त्यो भन्दा अघि यो हप्ताभित्र वार्ता समिति गठन गरियोस्, बेलायत सरकारलाई हामी तयार छौं भनेर हामीलाई ढुक्क बनाइयोस्,’ उनले भनिन्, ‘होइन भने सिंहदरबार अघि बसेर नेपाल सरकार विरुद्ध म फेरी अनशन बस्न बाध्य हुनेछु ।’
आफू भुपु गोर्खाकी श्रीमती भएको कारण अनशन बस्नकै निम्ती बेलायत आएको समेत जानकारी दिइन् ।
हेरौं प्राइम टिभीमा पत्रकार ऋषि धमलाले उनीसँग गरेको भिडियो अन्तर्वार्ता






