नयाँ दिल्ली । भारतको विपक्षी दल कांग्रेस आइका वरिष्ठ नेता शकील अहमदले मोदी सरकारको अहंकारका कारण भारतसँग नेपाल र नेपाली जनता टाढिएको आरोप लगाएका छन् ।

नेपालमा हालै १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोटमा लगाइएको प्रतिबन्धबारे टिप्पणी गर्दै उनले यसमा मोदी सरकारकै अहंकार मुख्य जिम्मेवार रहेको बताए । सोमबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भारत सरकारका अहंकारका कारण नेपालले भारतीय नोटमा प्रतिबन्ध लगाएको हो, यसको समाधानका लागि तत्काल पहल गर्न आवश्यक छ ।’

पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका अहमदले ठूला दरका भारतीय नोटमाथिको प्रतिबन्धका कारण सीमा क्षेत्रका नागरिकलाई समस्या भएको बताए । ‘केन्द्र सरकारको अपरिपक्वता र कुटनीतिक क्षेत्रको खराब सोचका कारण छिमेकी मुलुक नेपालसँग हाम्रो सम्बन्धमा तनाब आएको छ,’ उनले भने, ‘केन्द्र सरकारले नेपाल र नेपाली जनतालाई लगातार चिढ्याएको छ ।’

यसको सुरुवात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणबाट भएको उनले बताए । सोही भ्रमणका बारेमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘प्रधानमन्त्री मोदीबाट नेपालमा रहेका भारतीयहरुलाई सम्बोधन भएको’ अभिव्यक्ति दिएपछि नेपाली जनताको मन दुखेको उनको भनाइ थियो । नेपालमा यसबारे विरोध प्रदर्शन भए पनि मोदी सरकारको अहंकारका कारण नेपाली जनताद्वारा गरिएको विरोध प्रदर्शनलाई ध्यान नदिइएको आरोप उनले लगाए ।

अहमदले भने, ‘इतिहास हेर्ने हो भने नेपाल कहिल्यै पनि भारतको हिस्सा थिएन, परम्परा र संस्कृति एकै खालको भए पनि नेपालका मधेसी समुदाय नेपाली नै हुन् ।’

मतमुटाव बढ्दै जाँदा अहिले नेपालमा भारतीय नोटमाथि प्रतिबन्ध लागेको अहमदले बताए । (एजेन्सी)

फेसबुक कमेन्ट