काठमाडौं । ‘सभासद बनेको विदेश घुम्न र कमाउनलाई’ भन्ने उखान चरितार्थ गर्दै सभासदहरुको एउटा टोली विदेश भ्रमणमा जान तम्तयार भएर बसेको छ ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध र श्रम समितिका सभासदहरु श्रमिक कल्याणकारी कोषको खर्चमा विदेश जान लागेको थियो । तर, त्यस्तो खर्चमा विदेश भ्रमणमा नजान संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दवाव दिए । तैपनि सभासद टोली विदेश भ्रमणमा जाने भएको छ तर गैर आवासीय नेपाली संघ (एनआरएन) को खर्चवर्चमा ।
सभापति साहको नेतृत्वमा सात सभासदसहित ११ जनाको टोली चैतको पहिलो साता मलेसिया, कतार र युएइ जान लागेको हो । समितिले वैदेसिक रोजगारीमा गएका युवाहरुको अवस्थाका बारेमा स्थलगत रुपमा अध्ययन गर्ने जनाएको छ ।
गैर आवासिय नेपाली संघका अध्यक्ष शेष घलेले सभासद तथा कर्मचारीहरुको भ्रमण खर्च व्यहोर्ने भनेपछि प्रभु साह नेतृत्वको टोली वैदेशिक रोजगारीमा गएका युवाहरुको अवस्थाका बारेमा अध्ययन गर्न मलेसिया, कतार र युएइ जान लागेको हो । प्रभु साह अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति हुन् ।
स्रोत अनुसार नेम्वाङले विवादमा परेर विदेश भ्रमणमा नजान दवाव दिएपनि अन्यत्रबाट रकमको जोहो गरेर सभासदहरुको टोली विदेश भ्रमणमा जान लागेको हो ।
विदेशमा रहेका नेपालीको दुर्घटनामा परी अङ्गभङ्ग भएकाहरुलाई सहयोग गर्न कोष खडा गरिएको भए पनि त्यसैको रकमबाट सभासद विदेश जान लागेपछि सर्वत्र आलोचना भएको थियो । कोषको रकम अन्य तरिकाबाट पनि दुरुपयोग भइरहेको समाचार आइरहेको छ ।
एमाओवादीले संसदीय समितिको बैठक बहिष्कार फिर्ता लिए पनि साहले भने बैठक बोलाएका छैनन् । उनी एमाओवादीका सभासद हुन् ।
संविधानसभा अध्यक्ष नेम्वाङ त्यस्तो खर्चमा विदेश नजान भनेको पुष्टि गर्दै न्यूजभित्तासँग भने, ‘विवादमा आउने गरी विदेश भ्रमणमा नजान निर्देशन दिएको छु ।’
उनले संविधान निर्माणका विभिन्न मुद्धामा गम्भीर छलफल गर्ने बेलामा सभासदको टोली लिएर विवाद आउनेगरी विदेश भ्रमणमा जानु उपयुक्त नहुने बताए ।
लामो समयदेखि निस्कृय रहेको अन्तर्राष्ट्रिय श्रम तथा सम्बन्ध समितिका सभापति प्रभु साहले बैठक बोलाउनुको सट्टा सभासदको टोली लिए विदेश सयर गर्न लागेका हुन् ।
समितिका सभापति साहले टोलीले विदेशमा रहेका नेपालीहरुको अवस्था अध्ययन गरेर फर्कने बताए । उनले संविधान निर्माणको काम रोकिएकाले विदेश भ्रमणमा जान लागेको बताए । उनले न्यूजभित्तासँग प्रश्न गरे, ‘संविधान निर्माणको काम अघि बढेको छ र हाम्रो भ्रमण रोकिने ?’
समितिले वैदेसिक रोजगारीमा जाने युवाहरु ठगिएको, श्रम शोषणमा परेको र कार्यक्षेत्रमा असुरक्षित भएको उजुरी परेको भन्दै रोजगारदाता कम्पनीसँग पनि छलफल गर्नुका साथै कामदारहरुको स्थलगत अवलोकन समेत गर्ने जनाएको छ ।
यसअघि अर्थ समितिका सभापति प्रकाश ज्वाला नेतृत्वको सभासदको टोली सार्वजनिक खरिद ऐन बारे अध्ययन गर्न मलेसिया र सिंगापुर गएको थियो । त्यसयता विभिन्न सेमिनार तथा बैठकमा भाग लिन सभाससदहरु विदेश जाने क्रम रोकिएको छैन ।






