लन्डन आइपुगे नेपाल बास्केटबल संघका पदाधिकारी, यस्तो छ भ्रमण तालिका

शिव भण्डारी
लन्डन । बेलायतमा नेपाली खेल प्रवर्धन र यसको थप सम्भावना खोज्न नेपाल बास्केटबल संघका पदाधिकारीहरु लन्डन आइपुगेका छन् ।

नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङ, राष्ट्रिय संयोजक शरद विष्ट र कार्यकारी सदस्य मिलनध्वज कार्की गत २१ सेप्टेम्बरमा लन्डन उत्रिएका हुन् ।

नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत (एनएनआइपीए) को निमन्त्रणामा लन्डन आएका ति पदाधिकारीलाई एनएनआइपीए अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले विमानस्थलमा स्वागत गरेका थिए ।

बेलायतमा रहेका विभिन्न बास्केटबल क्लव र नेपाली डायस्पोरासंग भेटघाट साथै प्रशिक्षण अवलोकनमा उनीहरु सहभागी हुने क्षेत्रीले लन्डन नेपाल न्यूजलाई बताए ।

१० दिने भ्रमणका लागि लन्डन आइपुगेका नेपाली बास्केटबल पदाधिकारीले होपस्टार्स (लन्डन स्कुल अफ बास्केटबल) पदाधिकारीसंग भेट गरि प्रशिक्षण सेसन समेत अवलोकनको कार्यक्रम रहेको सिद्धार्थ क्षेत्रीले जनाए ।

ति पदाधिकारी लन्डनस्थित नेपाली दूतावासमा भेटघाट, बेलायतमा पहिलोपटक भएको ए स्टार बास्केटबल लिगका विजेतालाई ट्रफी तथा मेडल वितरण र सम्मान तथा विदाइ समारोहमा सहभागी हुने जनाइएको छ ।

उनीहरु २९ सेप्टेम्बरमा नेपाल फर्किनेछन् ।