अन्तराष्ट्रिय समुदायलाई देखाउन मात्र वार्ताको नौटंकी : उपेन्द्र यादव

वीरगञ्ज , ३० फागुन । मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार साँझसम्म मात्र वार्ताको डेडलाइन भएको भन्दै आइतबारदेखि आन्दोलनमा जाने उद्घोष गरेका छन् ।

शनिबार मधेसी पत्रकार समाजद्वारा आयोजित पत्रकार सम्मेलनमा फोरम अध्यक्ष यादवले अन्तार्राष्ट्रिय समुदायलाई देखाउन मात्र प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको नौटंकी गरेको आरोप लगाए ।

विगतका सहमति उल्टाएर कांग्रेस र एमालेले महेन्द्रीय संरचनामा आधारित संघीयता लाद्न खोजेको उनको दाबी थियो ।

मधेश बिद्रोह लगायतका आन्दोलनबाट स्थापित परिवर्तनलाई तुहाउन संघीयतालाई पहिचान र स्वायत्तताविहीन रुपमा लैजान खोजेको भन्दै उनले यसलाई प्रतिगामी कदमको संज्ञा दिए । ‘मुलुकको शासन, सत्ता र साधन-स्रोतमा एउटै जात र समुदायको हालीमुहाली रहेकोले त्यसैलाई निरन्तरता दिन खोज्ने पक्ष र परिवर्तनकारी पक्षबीच अहिलेको द्वन्द्व देखिएको छ’ उनले भने ।

३० दलीय मोर्चाको घटक फोरमका अध्यक्ष यादवले दुई तिहाइबाट संविधान निर्माण गर्ने हिम्मत कांग्रेस र एमालेसँग नरहेको बताए ।

मुलुक अपराधिकरण र कालाबजारियाहरुको चँगुलमा फस्दै गएको र त्यस्ता व्यक्तिहरुलाई सरकारले नै संरक्षण दिइरहेको उनको आरोप छ । उनले भने-‘बलात्कारपछि बालिकाको हत्याको घटनामा न्याय माग्ने महिलामाथि लाठी प्रहार गर्ने सरकारको कदम अपराधीहरुलाई संरक्षण दिने भएकोले त्यसलाई जति पनि निन्दा गरे पुग्दैन ।’