काठमाडौँ –राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर दिल्लीमा उपचार गराएर नेपाल फर्केका छन् ।
विशुद्ध स्वास्थ्य उपचारका लागि भनेर मंसिर १६ गते दिल्ली गएका उनले त्यहाँ केही राजनीतिक भेटघाट समेत गरेका छन् ।
त्यसमध्ये उनले भारतीय जनता पार्टी निकट राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) का कार्यकारणी सदस्य इन्द्रेश कुमारसँग भेटेको विषय चर्चामा रहेको छ । भारत–तिब्बत सहयोग मञ्च, मुस्लिम राष्ट्रिय मञ्चमा समेत आबद्ध रहेका इन्द्रेस कुमारसँग देशको समसामयीक विषय तथा नेपाल भारतको सम्बन्धमा छलफल भएको बताइएको छ ।
राजपा नेपालमा देखिएको विवादको बारेमा पनि इन्द्रेस कुमारले जिज्ञासा राखेको पार्टी स्रोतले जानकारी दिएको छ । साथै, भेटमा ठाकुर स्वास्थ्य स्थितिको बारेमा पनि उनले चासो राखेका थिए ।
जवाफमा नेता ठाकुरले पार्टीमा कुनै प्रकारको विवाद नरहेको स्पष्ट पारेको स्रोतले जनाएको छ ।
यसअघि उनी साउन १३ गते गएर स्वास्थ्य परीक्षण गराएर साउन १८ गते फर्केका थिए ।
छोरी र ज्वाँईलाई साथमा लिएर स्वास्थ्य उपचारको फ्लोअपका लागि दिल्ली पुगेका उनले त्यतिबेला पनि राजनीतिक भेटघाट गरेका थिए । गृहमन्त्री राजनाथ सिंहदेखि सुरक्षा सल्लाहकार अजित डोभलसम्मलाई भेटेका थिए ।
उपचारमा संलग्न डाक्टरले अध्यक्षमण्डलका सदस्य ठाकुरलाई ६ महिनापछि पुनः आउन भनेका थिए । सोही अनुसार उनी दिल्ली गएका थिए ।
२०७४ चैत २७ गते दिल्ली गएका ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लकअप’ देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको थियो । त्यसका लागि उनी नियमित परिक्षणका लागि जानु पर्ने हुन्छ ।
केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने हुन्छ । तर दुई वर्ष लगातार डाक्टरको सम्पर्कमा नगएपछि ब्लड ब्लकअप देखिएको थियो । त्यसैको अप्रेशन गरी स्टेन राखिएको थियो ।
हाल उनको स्वास्थ्य अवस्था ठीक रहेको उनका पारिवारिक स्रोतले जनाएको छ ।






