नयाँ वर्षअघि चीफ अफ स्टाफ जोन केलीले पद छोड्ने छन्ः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका चीफ अफ स्टाफ जोन केलीले यसवर्षको अन्त्यसम्म आफ्नो पद छोड्ने पत्रकारलाई जानकारी दिएका छन् ।

हालै, जोन केलीमाथि पदबाट राजीनामा दिन दबाब दिइरहेको खबर सार्वजनिक भएको थियो ।

थुप्रै मिडिया रिपोर्ट अनुसार केली र राष्ट्रपति ट्रम्पबीचको सम्बन्ध खराब भएको छ र दुबैबीच पानी बाराबारको स्थिती छ ।

ट्रम्पले भनेका छन्, ‘अबको दुई तीन दिनमा यो पदका लागि नयाँ नाम घोषणा गरिने सम्भावना छ ।’

थल सेना र जल सेनाको समूहबीच हुने एक फुटबल खेल हेर्न फिलाडेल्फिया जानुअघि ट्रम्पले मिडियासँगको कुराकानीमा यसबारे घोषणा गरेका हुन् ।

ह्वाइट हाउस चिफ अफ स्टाफ नियुक्त हुनुअघि जोन केली होमल्याण्ड सिक्योरिटी विभागका प्रमुख थिए ।

गत वर्ष ट्रम्पले उनलाई होमल्याण्ड सिक्योरिटी विभागको प्रमुखको पदका चयन गरेका थिए तर पछि रिन्स प्रिबसको ठाउँमा उनलाई चिफ अफ स्टाफ बनाइएको थियो ।

बीबीसीका उत्तर अमेरिकी संवाददाता एन्टनी जर्करका अनुसार सरसर्ती हेर्ने हो भने जोन केली अघि ट्रम्प प्रशासनमा तीन चीफ अफ स्टाफ र तीन राष्ट्रिय सुरक्षा सल्लाहकार परिवर्तन गरिसकिएको छ ।

ट्रम्प सन् २०१७ को जनवरी २० तारिखमा सत्तामा आएका थिए र त्यतिबेला देखि नै प्रशासनका अधिकारी परिवर्तन भइरहनु चर्चाको विषय बनेको छ ।

यसअघि रिन्स प्रिबस चीफ अफ स्टाफको पदमा र रिक डियरबर्न र केटी वाल्स डेप्युटी चीफ अफ स्टाफ पदका लागि काम गरिसकेका छन् ।

एचआर म्याकमास्टर माइक फ्लिन राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट र डिना पोवेलले उप राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट राजिनामा दिइसकेका छन् ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *