सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आयोजनामा सिड्नीमा सम्पन्न नेपाल फेस्टिवलमा गायक समिर आचार्यले “हट्ने हैन, डटी लट्ने नेपालीको वानी हुन्छ” बोलको राष्ट्रिय गीत गाएका थिए । सोही गीत गाउँदै जाँदा “त्यहाँ सिंगो नेपाल हुन्छ, जहाँ राजा-रानी हुन्छ” भन्ने लाईन थियो, उनले त्यो पनि गाएका थिए ।

लेखक दिनेशराज जोशी

हाम्रो देश नेपाल र हामी नेपालीहरू परिवर्तनका भोका छौं।  के गलत के सही छुट्याउनुभन्दा पनि पहिले हामी जानेर वा नजानेर परिर्वतका पक्षधर भइहाल्छौ।

यसको ज्व्लन्त उदाहरण नेपालमा भएका पछिल्ला सबैखाले जन आन्दालनहरू नै हुन्।

नेपालमा धेरै खाले परिवर्तनहरू भए र यसले थुप्रै परिवर्तन पनि ल्यायो। तर, देश र जनताले भने यसको अनुभूत अझै गर्न पाएका छैनन्।२००७ साल होस् या २०१७ साल अनि २०४६ र २०६२, ६३को आन्दोलन र यसले ल्याएको आमुल परिवर्तनलाई हेर्न सकिन्छ।

यी सबैखाले परिवर्तनले मुलुकमा केही समयका लागि उत्साह थपे पनि कालान्तरमा निराशा देखिन थालेको छ।

मुलुकले काँचुँली फेर्ने आश गरिएको आन्दोलनले जनतामा अधिकारको पहिचान गराए पनि त्यसमा मल्हम लगाउन सकेन।

बिगतलाई केलाउँदै जाने हो भने गणतन्त्र भन्दा प्रजातन्त्र राम्रो, प्रजातन्त्रभन्दा पञ्चायत राम्रो र पञ्चायतभन्दा राणा शासननै ठिक भन्ने उल्टो सोच नआउँला भन्न सकिन्नँ।

देश सही बाटोमा जान्छ, बिकसित हुन्छ, जनताको हित होला भनेर परिवर्तनको नाममा धेरै सहिद भए भने कयैनको सिउँदो पुछियो र कति टुहुरा भए र कतिले छोराछोरी गुमाए। त्यसको लेखाजोखा गरेर साध्य छैन।

मुलुकको पछिल्लो आन्दोलनको उपलब्धिका रूपमा मानिएको गणतन्त्र पनि यिनै शहिदको त्याग र बलिदानबाट आएको हो।

हजारौको बलिदानीपछि आएको गणतन्त्र एक दशक बितिसकेको छ। तर पनि देश र जनताको हातमा शून्यताबाहेक केही प्राप्त भएको छैन। मात्र नयाँ बोतलमा रक्सी भरेर नयाँ लेबल टाँसेको जस्तो भएको छ हाम्रो गणतन्त्र।

शासन पद्धति बदलियो, तर मानसिकता र मानिसको सोचमा परिवर्तन आउन सकेन। जसको परिणाम- मुलुकको पछिल्लो अवस्थालाई हेरे पुग्छ।

हामीले पहिले राजतन्त्रमा राजाको मनपरितन्त्रको विरोध गरेर आन्दोलन गरियो, त्यति बेला केही औंलामा गन्य ब्यक्तिको मात्र राज थियो। अर्थात एउटा राजा थिए अनि केही रजौटाहरू। तर, अहिले मुलुकमा गणतन्त्र आयो, सयौं नयाँ राजाहरू जन्मिए, हजारौं रजौटाहरू।

करौडौको गाडी र साइरन अनि हिँड्दा डुल्दा पुरानै परम्पराको निरन्तरता हुन थाल्यो। संसारमा भएका सबैखाले परिवर्तन कालान्तरमा इतिहासको पानामा समेटिने गर्छन्, नेपालमा पनि बाइसे चौबिसे राजादेखि हालको माओवादी जनयुद्व र लोकतन्त्र अनि गणतन्त्रको आगमन पनि इतिहासमा कोरिने छन्।

इतिहासले मुलुकको कालखन्ड र भोगाइ अनि संस्कृतिको पहिचान गराउँछ। तर, इतिहासमा यी सबैखाले आन्दोलन र परिवर्तनले मुलुकलाई के दियो भन्ने विषय भने गौण हुने छ। मात्र परिवर्तनको नाममा परिवर्तन।

सबैले आ-आफ्नो दुनो सोझ्याउने काम गरेका छन्। ब्यापारीले ब्यापारको बारेमा मात्र सोच्छ भने गायकले गायकीको बारेमा। गीत संगीतको कुनै घेरा र सीमाना हुँदैन भन्छन्।

एउटा देशको गायकले अर्को देशको गीत संगीतमा गायकी प्रस्तुत गरेर तहल्का मच्चाएको कयैन उदाहरण छन्। नेपालको रेशम फिरिरि गीत एउटा गोराले गाउँदै गरेको दृष्यले गीत संगीत आफैंमा विश्वब्यापी भाषा हो भनेर जान्न सकिन्छ।

गीत, संगीतका अनेकन रूप र रंग हुन्छन्। कुनै धार्मिक भजनदेखि साहित्यीक कथनसम्ममा गायकी प्रस्तुत हुन्छन्। यस्तोमा कुनै जमानाको चर्चामा रहेको एउटा गीत कुनै गायकले सम्झेर गायो भन्दैमा त्यसको विरोध गर्न मिल्ला कि नमिल्ला?

इतिहासको कुनै कालखन्डमा चर्चामा रहेको एउटा गीत अर्को कालखन्डमा सम्झना पनि गर्न हुन्न र गणतन्त्रमा?

सीड्नीको नेपाल महोत्सवको दौरान एक गायकले ‘हटी होइन डटी लड्ने ….’ बोलको गीत गाउँदा गणतन्त्रनै सकियो जस्तो गरेर सामाजिक सन्जालमा विरोध गर्नेहरू देखेर वाक्क दिक्क लाग्यो।

हरे हाम्रो मानसकिता !

हामी कुनै कालखण्डको इतिहाँसको कथा सुन्नसमेत नसक्ने भइसक्यौं। हामीले कस्तो गणतन्त्र ल्याएछौं, अरूलाई सम्मान गर्न नसक्ने। विदेशी भूमिमा एउटा गायकले जानेर वा नजानेर एउटा पुरानो ब्यवस्था झल्काउने गीत गायो भनेर ,गणतन्त्र नै मासिन लाग्यो भनेर रोइलो गर्ने देखेर भन्नै मन लाग्यो- हैट् गणतन्त्र।

गायकले गीत गाउँदै गर्दा सयौं युवा युवतीहरुले आनन्द लिए र नाँचे झुमेँ। तर, आफूलाई गणतन्त्रवादी भन्नेहरु सामाजिक सन्जालमा रोइलो गर्न थाले। हैट गणतन्त्र जोगाउँ भनेर।

हामीले हजारौंको ज्यानको बलिदानीपछि कयैन परिवर्तन त ल्यायौं तर, आफू परिवर्तन हुन भने सकैनौं। त्यसैले पनि एक पटक भन्नै मन लाग्यो- हैट् गीतमा अल्झीएका गणतन्त्र।

फेसबुक कमेन्ट